काठमाडौं,१९ फागुन,। बाम गठबन्धनबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई एमाले माओवादीका नेताहरुले प्रशिक्षण दिएका छन्।
प्रशिक्षण नयाँ बानेश्वरस्थित संसदभवनमा आरम्भ भएको छ ।
सांसदहरुलाई संसदीय अभ्यास,परम्परा, संसदीय दलको नियम, पार्टीसंगको सम्बन्ध,सचेतक र प्रमुख सचेतकको भूमिका,संसदीय समितिहरुको भूमिका, संसदीय दलका नेतासंगको परामर्श, विधेयक प्रस्तुति, संसदमा प्रस्तुत हुने सार्वजनिक महत्वको प्रस्ताव, अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्ताव, प्रश्नोत्तर शैली, मतदान प्रक्रिया,सार्वजनिक आचरण र सदाचारका आदिका बारेमा प्रशिक्षण दिन खोजिएको छ ।
संसद सचिवालयले संघीय सांसदहरुको शपथग्रहण कार्यक्रम भोलि राखेको छ र पर्सिदेखि संसदको अधिवेशन आरम्भ हुँदैछ । संसदको आरम्भदेखि नै सांंसदहरुको प्रस्तुति मर्यादित, व्यवस्थित र अनुशासित ढंगले हुन सकोस् भन्ने अभिप्रायले बामगठबन्धनले संयुक्त प्रशिक्षण राखेको हो ।
सांसदहरुलाई एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डका साथै पूर्वसभामुख सुवास नेम्वाङले विशेष सम्बोधनसहित प्रशिक्षण दिने कार्यक्रम छ ।
समयसामयिक राजनीतिक विषय र एकीकरण प्रक्रियालगायत विषयमा समेत दुई पार्टीका अध्यक्षले जानकारी दिने बताइएको छ ।


















