Prakash Adhikari November 15, 2021

काठमाडौं, २९ कार्तिक ।आइतवार बिहान मुस्ताङमा गएको हिमपहिरोबाट मानवीय क्षति नभएको र अन्य क्षतिको विवरण सङ्कलन भइरहेको अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार उक्त हिमपहिरोबाट बच्न भागदौडमा परेर घाइते भएकामध्ये केही उपचारपछि घर फर्किएका छन् भने तीन जनालाई जिल्ला बाहिर उपचारका लागि पठाइएको छ।

वर्षा र हिमपात दुवै नभएका र सुक्खा मौसममा गएकाले उक्त हिमपहिरोलाई कतिपयले अस्वाभाविक ठानेका छन्।

तर एकजना हिमनदी विज्ञले उक्त घटनालाई ूस्वाभाविक र प्राकृतिकू भएको बीबीसीलाई बताउनुभएको छ।

के भएको थियो ?
आइतवार बिहान ११ : ४० बजेतिर मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा पर्ने भुर्जुङकोट बोक्सी खोलामा करिब साढे ११ बजेतिर अप्रत्याशित रूपमा हिमपहिरो खसेको थियो।

सामाजिक सञ्जालहरूमा प्रेषित भिडिओ सामग्रीहरूमा उक्त पहिरोका कारण नजिकैको गाउँमा भागदौड मच्चिएको देखिन्छ।

सेतो बादलजस्तो र त्यसमा धुलो मिसिएको जस्तो गरी उक्त हिमपहिरो खसेको ती सामग्रीहरूमा देखिएको छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार धौलागिरि हिमशृङ्खलाको याङ्देन खर्कबाट हिमपहिरो खसेको हो।

त्यसका कारण तल पर्ने एउटा विद्यालयमा भागदौडसमेत भएको उहाँले बताउनुभयो।

“त्यहाँ शिक्षक र विद्यार्थी गरेर ११ जना घाइते भएकोमा तीन जनालाई उपचारका लागि बाहिर पठाइएको छ। अरू ठिक भएर घर गएका छन्।’, उहाँले भन्नुभयो ।

थप क्षतिबारे विवरण सङ्कलन भइरहेको उहाँको भनाइ छ।

उहाँले उक्त क्षेत्र पदयात्रा जाने क्षेत्र पनि नपरेको र बस्ती पनि नजिक नभएकाले कम क्षति भएको बताउनुभयो।

सुक्खा हिमपहिरो कति स्वाभाविक ?

हिमनदी विज्ञ तथा काठमाण्डू विश्वविद्यालय वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख डा. रिजनभक्त कायस्थ आइतवारको हिमपहिरोलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँनुहुन्छ।

‘यस्तो मौसममा पहिले पनि यस्तै खाले हिमपहिरो गएका छन्। धेरै धनजनको क्षति पनि भएको छ। २५ वर्षजति अघि सगरमाथा क्षेत्रको गोक्योमा पनि हिमपहिरो जाँदा कयौँको ज्यान गएको थियो।’, कायस्थले भन्नुभयो , ‘तर त्यसबेलाको र अहिलेकोमा के फरक छ भने त्यसबेला ठूलो हिमपात भएको थियो। अहिले भने ताजा हिमपातबाट होइन एकरडेढ महिनाअघिको हिमपातबाट हिमपहिरो गयो।’

कायस्थका अनुसार एकरडेढ महिनाअघि हिमपात हुँदा ठूलो मात्रामा जमेर बसेको हिउँ अहिले तापक्रम बढेपछि पग्लिन थालेको र त्यो हिउँको ठूलो थुप्रोको भित्र पसेर पानीका रूपमा बग्दा अहिलेको अवस्था आएको हो।

‘त्यो पग्लेको पानी कुनै पनि माध्यमबाट बाहिर निस्कँदा दुईवटा सतह बनाइदिन्छ। त्यस्तो अवस्थामा माथिको ढिस्को एक्कासि ढल्दा यस्तो अवस्था भएजस्तो देखिन्छ।’

उहाँले अहिलेको अवस्था हेर्दा उक्त हिमपहिरो जलवायु परिवर्तनकै असरका कारण गएको जस्तो नदेखिएको बताउनुभयो।

‘अहिलेको सामान्य नै भन्नुपर्छ। यस्ता हिमपहिरो धेरै गइरहेका हुन्छन्। तर बस्ती नहुने भएकाले त्यति खबरमा आउँदैनन्’,  उहाँले भन्नुभयो।

अनुकूलनका लागि के गर्ने ?

तर कैयौँ अवस्थामा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर देखापरेको र त्यसले जोखिम बढाएको ठम्याइ उहाँको छ।

उहाँले केही साताअघि मात्र हिमपात हुनुपर्ने मनाङ जिल्लाका केही स्थानमा ठूलो वर्षा भएको भन्दै त्यो जलवायु परिवर्तनको असर हुनसक्ने बताउनुभयो।

यस्तो अवस्थामा जोखिमबाट बच्नका निम्ति सबैभन्दा पहिले मौसमसम्बन्धी विस्तृत र वैज्ञानिक विवरणहरू हुनुपर्ने उहाँको भनाइ छ, ‘हामीले तीन हजार मिटरमाथिको हावापानी तथा हिमपातको पूर्वानुमान गर्न सकेका छैनौँ। अहिले त्यो उचाइमाथि १२ वटा मात्र वर्षा मापन केन्द्र छन्। त्यो पर्याप्त छैन।’

उहाँ पनि नेपालमा वैज्ञानिक ढङ्गले हिमपातको मात्रा अवलोकन र मापन हुन नसकेको बताउँनुहुन्छ।

जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखा प्रमुख डा. इन्दिरा कँडेल पनि उच्च भेगमा पर्याप्त मौसम मापन केन्द्रहरू राख्न नसकिएको बताउँनुहुन्छ।

‘कतिपय भेगमा अझै पर्याप्त उपकरण राख्न सकिएको छैन। जनशक्तिको अभाव पनि छ।’, कँडेलले भन्नुभयो,’हिमपातको पनि मापन र पूर्वानुमान गर्न नसकिने होइन तर त्यसका लागि हामीले अझै थप उपकरण र केन्द्र राख्नुपर्ने आवश्यकता छ।’

हिमनदी विज्ञ कायस्थ जोखिम बढिरहेका बेला अनुकूलनका लागि मौसमको वैज्ञानिक विवरण नियमित राखेर जोखिम क्षेत्रमा जनचेतना फैलाउनुपर्ने बताउँनुहुन्छ। (बीबीसीबाट)

 

Share Now

Leave a comment.