लन्डन(संंयुक्त अधिराज्य),१९ फागुन । गैरआवासीइ नेपाल संघ)एनआरएनए) यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङले कास्कीको बराह माध्यमिक विद्यालयलाई रु ६ लाख आर्थिक सहयोग गर्ने भएका छन् ।
उनले फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टको १९ औं वार्षिकोत्सवमा च्यारिटी डिनर बाट संकलित ४२ सय पाउण्ड (करिब ६ लाख रुपैयां) रुपैयां नेपालको कास्की भेडाबारीस्थित बराह माध्यमिक विद्यालयलाई सहयोग दिने जानकारी दिएका छन् ।
गुरुङले विगत १९ वर्षदेखि रेष्टुरेन्ट वार्षिकोत्सवमा हरेक वर्ष नेपाल र बेलायतको च्यारिटीमा सहयोग गर्दै आएका छन् ।
उनकी छोरी सिल्भियाको स्वागत मन्तव्यबाट सुरु भएको च्यारिटी डिनर कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण, स्थानीय सांसद लियो डोचेर्टी, पूर्व मन्त्री तथा सांसद सर जेराल्ड होवार्थ लगायतले रेष्टुरेन्टको सामाजिक कार्यको प्रशंसा गर्दै अझ व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा रसमोर काउन्सिल लिडर डेभिड क्लीफोर्ड, पूर्व मेयर मार्टिन टिनेन्ट, मेयरेस मिस अटिक्का चौधरी लगायत सयौं सहभागी थिए ।
उक्त अवसरमा राफल ड्र, र बिंगो समेत खेलाइएको थियो ।