Prakash Adhikari December 2, 2021

नयाँदिल्ली( भारत), १६ मंसिर ।  भारतको दिल्लीका सवै विद्यालयहरु फेरि बन्द गर्ने घोषणा भएको छ ।

शुक्रबारदेखि सवै विद्यालयहरु बन्द गर्ने निर्णय भएको दिल्लीका वातावरण मन्त्री गोपाल रायले बिहीबार जानकारी दिनुभयो ।

“अर्को सूचना जारी नभएसम्मका लागि भोलिदेखि दिल्लीका सवै विद्यालयहरु बन्द गर्ने निर्णय भएको छ,” मन्त्री रायले बिहीबार भन्नुभयो ।

उहाँका अनुसार दिल्लीमा वायु प्रदुषणको अवस्था अत्यन्त नराम्रो र घातक रहेकाले अनिश्चितकालका लागि विद्यालय बन्द गर्नु परेको हो ।

विद्यालय खुल्लै राख्दा दिल्लीको वायु प्रदुषण झन झन बढ्दै गएको भन्दै सर्वोच्च अदालतले सरकारको ध्यानाकर्षण गरेको भोलिपल्ट सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको भारतीय अधिकारीहरूले जनाएका छन् ।

सरकारले कामदारहरूलाई पनि घरबाटै काम गर्न आग्रह गरेको छ । सवारी साधनमा हिडडुल गर्दा वायु प्रदुषण बढ्ने र बाहिर हिड्दा वायु प्रदुषणको असर बढी पर्ने भएकाले सवारी साधनमा हिड्नु वा पैदल हिड्नु दुवै घातक हुने विज्ञहरूको भनाइ छ ।

“वायु प्रदुषण न्युनिकरणबाहेक दिल्लीको अहिलेको समस्या समाधान गर्ने अरु कुनै उपाय नै छैन, त्यसैले वायु प्रदुषण न्युन गर्ने उपायहरु अपनाउनु परेको हो,” मन्त्री रायले भन्नुभयो ।

दिल्ली सरकारले यसअघि गत नोभेम्बर २९ मा मात्रै दिल्लीका विद्यालयहरू पुनः सञ्चालनमा ल्याएको थियो ।

कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेका दिल्लीका विद्यालयहरू अहिले फेरि वायु प्रदुषणका कारण बन्द गर्नु परेको छ ।

विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पठनपाठन नराम्रोसँग विग्रिएको छ भने विद्यार्थीको भविष्य प्रति नै धेरैले चिन्ता व्यक्त गरेका छन् ।

Share Now

Leave a comment.