काठमाडौं, ७ पौष। नेपाल क्रिकेट संघको केन्द्रीय कार्यसमितिका ६ जना सदस्यले राष्ट्रिय टिमका कप्तान र उपकप्तानसहित चार जना खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् ।
संघका सदस्यहरु ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतारा, सञ्जयराज सिंह र छुम्बी लामाले बुधबार एक पत्रकार सम्मेलन आयोजना गरेर राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीको जिम्मेवारी खोस्ने तथा खेलाडीहरु सोमपाल कामी र कमल सिंह ऐरीलाई सेन्ट्रल कन्ट्र्याक्टबाट हटाउने क्यानको निर्णय फिर्ता लिन माग गर्नुभएको हो ।
छ जना सदस्यहरुले खेलाडीहरुलाई कारबाही गर्ने संघको निर्णयमा असहमति(नोट अफ डिसेन्ट) पनि लेख्नुभएको थियो ।
संघका जिम्मेवार सदस्यहरुद्धारा वितरण गरिएको ३ पृष्ठ लामो प्रेस विज्ञप्तिमा अहिले विवादको जडको रुपमा रहेको खेलाडीहरुको ग्रेडिड. हचुवाको भरमा गरिएको र खेलाडीहरुसंग परामर्श गर्नुपर्ने आफूहरुको सुझावलाई लत्याइएको आरोप लगाइएको छ ।
त्यस्तै ग्रेडिड.मा खेलाडीहरुको असन्तुष्टि आएपछि त्यसलाई सुधार्नुको सट्टा खेलाडीहरुलाई कारबाही गरि अधिनायकवादी प्रवृत्ति देखाएको, संघलाई विधि र पद्धति अनुरुप नचलाएर स्वेच्छाचारी पाराले चलाएको, २०७८ कार्तिक २० गते चार बर्षे कार्यकाल सकिएका २० जिल्लामा अधिवेशन नगरी आफूखुसी प्रतिनिधि तोकेर पौष १६ र १७ गते धनगढीमा संघको बार्षिक साधारण सभा गर्न लागेको आरोप पनि छ जना केन्द्रीय सदस्यहरुले लगाउनुभएको छ ।
त्यस्तै सदस्यहरुले संघको नेतृत्वले दरबन्दी कायम नगरी आफूखुसी कर्मचारी भर्ना गरिएको , प्रदेशमा आफूखुसी २।२ जना प्रशिक्षक नियुक्ति गरिएको,खेलको बार्षिक क्यालेण्डर बनाउन नसकेको,नेपाल टी २० क्रिकेट आयोजना गर्न नसकेको, प्रदेश र जिल्ला क्रिकेट संघलाई वितरण गर्ने भनेर खरिद गरिएको ठूलो धनराशीको थुप्रो खेल सामग्री वितरण नगरेको र त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जिम सेन्टर व्यवस्थित गर्न विनियोजन भएको ४० लाख रकम फ्रिज गरेर नालायकी पन देखाएको जस्ता आरोप पनि लगाएको छ ।
‘नेपालमा सञ्चालन भएको ट्राइ(नेशन टि(२० क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलँडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गर्दछौं’ ६ जना केन्द्रीय सदस्यले प्रेस विज्ञप्तिमा भन्नुभएको छ।





















