काठमाडौं, १९ पौष । राष्ट्रियसभामा अब रिक्त हुने २० सीट मध्ये निर्वाचन हुने १९ सिटमा सत्तारुढ गठबन्धनबीच भागवण्डाको टुंगो लागेको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ गठबन्धनमा सम्मिलित राजनीतिक दलहरुबीच भागवण्डाको सहमति भएको हो ।
नेकपा एकीकृत समाजवादीका महासचिव डा.वेदुराम भुसालकाअनुसार रिक्त हुन लागेको १९ सिटमध्ये काँग्रेसलाई ६, माओवादीलाई ५, एकीकृत समाजवादीलाई ५, जसपालाई २ र जनमोर्चालाई एक सिट बाँडिएको छ ।
आगामी फागुन देखि राष्ट्रिय सभामा प्रतिनिधित्व गरिरहेका काँग्रेसका ३, माओवादी र एकीकृत समाजवादीका चार–चार जना सांसदको पदावधि समाप्त हुँदैछ । त्यस्तै एमालेका ८ सांसदको पनि पदावधि समाप्त हुँदैछ । त्यस्तै राष्ट्रपतिबाट मनोनित एक जनाको पनि पदावधि सकिने छ ।
राष्ट्रपतिबाट मनोनीत हुने एक स्थानबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ ।
काँग्रेसले बागमती र लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट एक–एक जना राष्ट्रियसभा सांसद गुमाउँदैछ । यस्तै एमालेले प्रदेश एकबाट ३, लुम्बिनीबाट २, सुदूरपश्चिम, प्रदेश २, कर्णालीबाट एक–एकजना सांसद गुमाउँदैछ । माओवादी केन्द्रले गण्डकीबाट २, प्रदेश २ र कर्णालीबाट एक–एक जना सांसद गुमाउँदैछ । एकीकृत समाजवादीले बागमती, गण्डकी कर्णाली र सुदूरपश्चिमबाट एक–एक जना सांसद गुमाउँदैछ ।
प्रदेश १ बाट एमाले सांसद नैनकला ओझा, परशुराममेघी गुरुङ र अगमप्रसाद वान्तवा राईको पदावधि सकिदै छ । लुम्बिनीबाट एमालेका रामलखन चमार, कोमल वली र काँग्रेसका दृगनारायण पाण्डेको कार्यकाल सकिँदैछ । सुदूरपश्चिमबाट काँग्रेसकी तारादेवी भट्ट, एकीकृत समाजवादीका शेरबहादुर कुँवर र एमालेका चक्रप्रसाद स्नेहीको पदवाधि सकिँदैछ ।
बागमतीबाट काँग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी उदय शर्मा पौडेलको कार्यकाल सकिँदैछ । गण्डकीबाट माओवादीका दीनानाथ शर्मा, खिमबहादुर विक र एकीकृत समाजवादी शान्ति अधिकारी जिसी विदा हुनुहुनेछ ।
प्रदेश २ माओवादीका शशिकला दाहाल र एमालेका सुमनराज प्याकुरेलको समय अवधि सकिँदैछ । कर्णाली प्रदेशबाट एकीकृत समाजवादीका ठगेन्द्रप्रकाश पुरी एमालेकी कविता बोगटी र माओवादीका जीवन बुढाको पदावधि सकिंदैछ ।


















