Prakash Adhikari January 6, 2022

नयाँदिल्ली (भारत), २२ पौष । दक्षिण छिमेकी भारतले यथास्थितिमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन आयोजना हुन नसक्ने बताएको छ।

नयाँ दिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा बिहीबार अपरान्ह आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सार्क शिखर सम्मेलनका लागि वातावरण बनिनसकेको बताउनुभयो।

‘पाकिस्तानी विदेशमन्त्रीले सार्क शिखर सम्मेलनबारे दिएका अभिव्यक्ति हामीले मिडियामा देख्यौँ। तर सन् २०१४ यता सार्क शिखर सम्मेलन किन आयोजना हुन सकिरहेको छैन। त्यसबारे यहाँ जानकार नै हुनुहोला”, बागचीले भन्नुभयो,”सार्क शिखर सम्मेलनका लागि कुनै सहमति (सदस्य देशबीच) र परिस्थिति निर्माण भएकै छैन।”

सार्क शिखर सम्मेलनका लागि भारतलाई पाकिस्तानले आग्रह गरेको बारेमा एक भारतीय पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा बागचीले यस्तो स्पष्टीकरण दिनुभएको हो।

बागचीले स्पस्ट नखुलाए पनि उहाँको संकेत पाकिस्तानका कारण सार्क शिखर सम्मेलन हुन नसकेको र पाकिस्तानले नै परिस्थिति निर्माण गर्नुपर्छ भन्ने थियो।

भारतपाकिस्तान टकरावले सार्क मृतप्रायः बनेका बेला भारतले अझै पनि शिखर सम्मेलन हुन नसक्ने बताएको हो।

गत मंगलबार इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी विदेश मन्त्री शाह महमुद कुरेसीले सार्क शिखर सम्मेलन आयोजना गर्न भारतले अवरोध गरिरहेको आरोप लगाउनुभएको थियो।

त्यसको तीन दिनपछि बिहीबार भारतीय विदेश मन्त्रालयले पाकिस्तानतर्फ संकेत गर्दै तत्काल सार्क शिखर सम्मेलनको माहौल बनिनसकेको प्रतिक्रिया दिएको हो।

सन् २०१६ नोभेम्बरमा पाकिस्तानमा हुने भनिएको १९ औं सार्क शिखर सम्मेलन अन्तिम समयमा रद्द भएको थियो।

त्यसबेला भारत लगायत भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले सार्क शिखर सम्मेलनका लागि वातावरण तयार नभएको बताएका थिए।

उनीहरुले सार्क शिखर सम्मेलनका लागि पाकिस्तानले आवश्यक वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए।

पाकिस्तानी विदेश मन्त्री कुरेसीले भौतिक रुपमा सम्मेलनमा सहभागी हुन नचाहे भर्चुअल माध्यमबाट भए पनि सहभागी हुन भारतलाई आग्रह गर्नुभएको थियो।

‘हामी १९ औँ शिखर सम्मेलन आयोजना गर्न तयार छौँ। यसमा सहभागी हुन भारतलाई निम्तो छ। यदि भारतीय नेतृत्वलाई भौतिक रुपमा शिखर सम्मेलनमा भाग लिन इस्लामावाद आउने इच्छा छैन भने भर्चुअल माध्यमबाट सहभागी हुनसक्छ। तर, भारतले अरु सदस्यलाई सम्मेलनमा भाग लिन रोक्न भएन,’ इस्लामावादस्थित विदेश मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी विदेशमन्त्री कुरेसीले भन्नुभएको थियो ।

 

Share Now

Leave a comment.