Prakash Adhikari January 17, 2022

जनकपुरधाम(धनुषा), ३ माघ । प्रदेश २ को नाम मधेश नामाकरण भएको छ ।

प्रदेशसभा सोमबार बसेको बैठकले प्रदेशसभाको नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाई बहुमतका साथ पारित गरेको हो ।

प्रदेश सभाको सोमबार बसेको दोस्रो बैठकमा मतदानमा सहभागी ९९ सांसदमध्ये ८० जनाले पक्षमा मत दिएका थिए ।

सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए । जसपाका ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । एक सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो ।

तर अरु दलका १६ सांसदले पनि प्रदेशको नाम मधेश राख्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

मधेश नाम स्वीकृत भएपछि अब अन्य नाम स्वतः निष्कृय भएको सभामुख सरोजकुमार यादवले जानकारी दिनुभएको छ ।

प्रदेश सभामा कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए ।

यसअघि ३ चैत २०७६ मा भएको मतदान भएपनि प्रदेशको नामाकरण हुन सकेको थिएन ।

जनकपुर नै स्थायी राजधानी

सोमबार नै प्रदेशसभाले स्थायी राजधानीको पनि टुगो लगाएको छ । प्रदेशसभाको पहिलो बैठकमा भएको मतदानमा ७८ जनाले जनकपुरको पक्षमा मत दिएका थिए ।

प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि सुरुमा ७ वटा प्रस्ताव गरेको थियो । पछि त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको थियो, जसमध्ये जनकपुरमा दुई तिहाइ बहुमत मत प्रकट भएको हो ।

प्रदेश सभाको बैठकले स्थायी राजधानी जनकपुरको सीमांकन पनि गरेको छ । जस अनुसार उत्तरमा ढल्मकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिणा नेपालको सीमानाको चार किल्लाभित्रको क्षेत्र प्रदेश २ को राजधानी जनकपुर कायम हुने भएको छ ।

Share Now

Leave a comment.