अक्ल्याण्ड(न्युजिल्याण्ड), ४ माघ(बीबीसी) । गत शनिवार प्रशान्त महासागरको टोड.गा निकट क्षेत्रमा पानीमुनि विष्फोट भएको ज्वालामुखीका कारण टोड.गामा आएको सुनामीले गरेको बिनासको एकिन विवरणहरु आउन सकेको छैन ।
विदेशमा बसिरहेका टोङ्गाका मानिसहरू प्रशान्त महासागरमा ज्वालामुखी विस्फोटन भएपछि आएको सुनामीपछि आफ्ना प्रियजनको अवस्थाको खबर व्यग्रताका साथ कुरिरहेका छन्।
शनिवार टोङ्गाको राजधानी नुकुुआलोफाबाट झण्डै ६५ किलोमिटर उत्तरतर्फ पानीमुनि विशाल ज्वालामुखी विस्फोटन भएको थियो।
जससँगै त्यहाँ सञ्चार सम्पर्क टुटेको थियो जसले क्षतिको वास्तविक अवस्था अझै थाहा हुन सकेको छैन।
ज्वालामुखी विस्फोटन हुँदाको कम्पन अमेरिकासम्मै सुनिएको थियो र त्यसले टोङ्गासम्मै एक मिटरभन्दा अग्ला छालहरू निम्त्याएको थियो।
स्थानीय अधिकारीहरूले अहिलेसम्म कुनै मृत्यु पुष्टि गरेका छैनन्।
तर एक जना ब्रिटिश महिलाका परिवारले आफ्नो कुकुरलाई जोगाउन खोज्दा उनको छालमा परेर मृत्यु भएको जनाएको छ।
अस्ट्रेलिया र न्युजिल्यान्डले गरेका हवाई अनुगमनले त्यहाँ उल्लेख्य क्षति पुगेको विवरण दिएका छन्।
रेडक्रसले त्यहाँ स्वच्छ पानीको आपूर्ति मुख्य प्राथमिकता रहेको जनाएको छ।
तर उसले आफूले सुरुमा चिन्ता गरेजस्तो ठूलो क्षति नभएको पाएको जनाएको छ।
रेडक्रसले बीबीसीलाई बताएअनुसार ज्वालामुखी विस्फोटन भएपछि ८० हजार मानिस प्रभावित भएका हुन सक्छन्।
टुटेको सम्पर्क
प्रशान्त क्षेत्रका टापुहरूलाई बाँकी विश्वसँग जोड्ने पानीमुनिका महत्त्वपूर्ण तारहरूमा क्षति पुगेपछि टोङ्गा सम्पर्कविहीन बनेको छ।
फोन र इन्टरनेट लाइन स्थापित गर्न दुई सातासम्म लाग्न सक्ने जनाइएको छ।

ज्वालामुखी विस्फोटनपछि सुनामी आएको थियो
समुद्री सतहको होचो भूभागमा रहेका दुई टापुहरू फोनोई र मान्गोबाट आएका खबर सुखद नरहेको राष्ट्रसङ्घले जनाएको छ।
आकाशमा रहेको धुवाँको मुस्लोले गर्दा सहायता संस्थाहरूका स्याटलाइट फोनले समेत राम्ररी काम नगरिरहेको बताइएको छ।
टोङ्गाको जनसङ्ख्या झन्डै एक लाख छ जहाँ १ सय ७० वटा टापुहरू सात लाख वर्ग किलोमिटरको क्षेत्रभित्र फैलिएका छन्।
सङ्केत
शनिवार ठूलो विस्फोटन हुनुअघि केही दिनदेखि ज्वालामुखी सक्रिय भइरहेको थियो।
टोङ्गाको मौसम निकायले केही क्षेत्रमा सल्फर र एमोनियाको गन्ध आएको जानकारी आएको भन्दै चेतावनी जारी गरेको थियो।
विज्ञहरूका अनुसार हुङ्गा टोङ्गा -हुङ्गा-हाुआपाई ज्वालामुखी धेरै दशकयता उक्त क्षेत्रमा विस्फोटन भएको एउटा शक्तिशाली ज्वालामुखी हो।
उक्त ज्वालामुखी विस्फोटनका कारण जापान र अमेरिकासहित कैयौँ देशमा सुनामीको चेतावनी जारी भएको थियो।
अमेरिकाका क्यालिफोर्निया र अलास्का राज्यका तटीय क्षेत्रसम्म बाढी पुग्यो।
विस्फोटनपछि भूउपग्रहबाट प्राप्त तस्बिरमा परपर रहेका केही टापु पानीमा पूरै डुबेको सङ्केत देखिएको थियो


















