Prakash Adhikari January 27, 2022

 

काठमाडौं, १३ माघ । नेपाल र भारतबीच हवाई उडानमा लागु गरिएको एअर बबल सम्झौतामा टेकेर सातामा ५६ वटा उडान गर्ने बाटो खुलेको अधिकारीहरूले बताएका छन्।

कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि दुई देशबीच हाल सातामा ७ । ७ वटा उडान हुने गरेको छ।

नेपाल र भारतमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फेला पर्नुअघि नै नेपालले विद्यमान ‘एअर बबल’ सम्झौतामा आधारित रहेर उडान सङ्ख्या थप्ने प्रस्ताव गरेको थियो।

कोरोनाभाइरस सङ्क्रमण दर घट्दै गएको अवस्थामा भारतले गत डिसेम्बर १५ देखि अन्तर्राष्ट्रिय उडान खुला गर्ने तयारी समेत गरेको थियो।

तर ओमिक्रोन भेरिअन्ट तीव्र रूपमा फैलिएसँगै उसले सन् २०२२ को ज्यानुअरीसम्म उक्त व्यवस्था कायमै राख्ने जनाएपछि नेपालसँगको सम्झौतामा तत्काल परिमार्जन हुने सम्भावना टर्दे गएको थियो।

नेपालको प्रस्ताव
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार नेपाल र भारतले २८ । २८ वटा गरी कुल ५६ उडान गर्ने प्रस्ताव गरेको थियो। नेपालले भारतमा दैनिक ४ उडान गर्न पाउने प्रस्ताव थियो त्यो ।

“हामीले २८ उडानकै सीमामा एकभन्दा बढी एअरलाइन्सले उडान गर्न सके प्रतिस्पर्धा हुन्छ भनेर प्रस्ताव गरेका थियौँ”, लामिछानेले भन्नुभयो, “त्यसमा उनीहरूले सहमति गरेर पठाएका छन्।”

दुई देशबीच सहमति जुटेसँगै आफ्ना तर्फ कार्यान्वयनका लागि सहमतिबारे नेपाल नागरिक उड्डयन प्राधिकरणलाई मन्त्रालयले जानकारी गराइसकेको छ।

सम्झौतामा आधारित रहेर कुनकुन वायुसेवा प्रदायकले उडान गर्न पाउनेछन् भन्ने विषयबारे दुई देशका सरकारले आआफ्ना किसिमले निर्णय गर्न पाउनेछन्।

अहिले नेपालबाट नेपाल वायुसेवा निगम र भारतबाट एअर इन्डियाले मात्रै यात्रु ओसारिरहेका छन्। त्यसैले चाहेको समयमा टिकट पाउन गाह्रो भएको र कतिपय अवस्थामा चर्को मूल्य बेहोर्न बाध्य भएको यात्रुहरूले बताउने गरेका छन्।

उडान सङ्ख्या कहिलेबाट थपिन्छ ?
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल उडान सङ्ख्या थप गर्नका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको छ।

प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार केही भारतीय वायुसेवा कम्पनीहरूले नेपालमा उडान गर्नका लागि आवेदन दिएका छन्।

अहिलेसम्म इन्डिगो र भिस्ताराले आवेदन दिएको बताइएको छ।

नेपालबाट भने विगतमा केही निश्चित स्थानमा बुद्ध एअरले उडान गरेको भए पनि मूलभूत रूपमा नेपाल एअरलाइन्सले मात्रै सेवा उपलब्ध गराउँदै आएको कर्ण बताउँछन्।

उडान सङ्ख्या थप हुने विषयमा विभिन्न प्रक्रिया पार गर्नुपर्ने तर अब क्रमिक रूपमा सङ्ख्या थप्नका लागि भने बाटो खुलिसकेको अधिकारीहरू बताउँछन्।

विमान

विमान

दिल्लीबाहेक अन्यत्र पनि होला उडान ?

अहिले नेपाल एअरलाइन्स र एअर इन्डियाले काठमाडौं(दिल्ली रूटमा मात्रै उडान गर्दै आएका छन्।

महामारी सुरु भएपछि काठमाडौंबाट मुम्बई, बेङ्गलोर, कोलकाता र बनारससहितका सहरमा हुने उडानहरू रोकिएका थिए।

नेपालले पछिल्लो सम्झौताका क्रममा भारतसँग उडान सङ्ख्या मात्र नभएर विभिन्न गन्तव्यबाट यात्रुहरू ओसारपसार गर्ने बाटो खोल्न प्रस्ताव गरेको थियो।

ु”भारतको पत्रमा गन्तव्यबारे छुट्टै केही उल्लेख त छैन। तर अरू सबै कुरामा सहमत भएकाले त्यो पनि हाम्रो (नेपाल वायुसेवा निगमले प्रस्ताव गर्‍यो भने दिन्छ (भारतले) भन्ने लाग्छ मलाई”, लामिछानेले भन्नुभयो।

कर्ण पनि विभिन्न गन्तव्यमा उडान भर्नका लागि सम्बन्धित वायुसेवा कम्पनीले प्रस्ताव गर्नुपर्ने बताउँनुहुन्छ।

नेपाल वायुसेवा निगमका हकमा भारतीय निकायहरूबाट अनुमति प्राप्त गरेपछि प्राधिकरणसँग सहमति लिनुपर्ने हुन्छ।

एअर बबलमा कसले यात्रा गर्न पाउँछन् ?

‘एअर बबल’ अन्तर्गतको सम्झौतामा भारतबाट नेपाली अनि भारतीय नागरिक नेपाल प्रवेश गर्न पाउँछन्।

एअरलाइन्स कम्पनीहरूले टिकट बेच्नुअघि वा विमान चढ्नुअघि भारतीय नागरिकहरूलाई नेपालमा रोक लगाइएको वा नलगाइएको निश्चित गर्नुपर्ने हुन्छ।

त्यस्तै परिआएको अवस्थामा नेपालको प्रवेशाज्ञा प्राप्त गरेका तेस्रो देशका नागरिक अनि कूटनीतिज्ञहरूले पनि यात्रा गर्न पाउने बताइएको छ।

त्यस्तै नेपालबाट भारतीय र नेपाली नागरिकले दिल्ली जान पाउँछन्।

ओभरसीज सिटिजन्स अफ इन्डिया (ओसीआई) तथा पर्सन अफ इन्डिअन अरिजिन (पीआईओ) कार्ड भएका अन्य देशको राहदानी बोक्ने यात्रुहरूले पनि भारत यात्रा गर्न पाउने बताइएको छ।

भारतको प्रवेशाज्ञा प्राप्त गरेका यात्रु अनि कूटनीतिज्ञले पनि नेपालबाट हवाईमार्ग हुँदै भारत जान पाउने उल्लेख छ ।

Share Now

Leave a comment.