Prakash Adhikari January 27, 2022

काठमाडौं, १३ माघ । नेपालमा कोरोना संक्रमणबाट विगत २४ घण्टामा १५ जनाको मृत्यु भएको छ भने थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार अपरान्ह सार्वजनिक गरेको विवरण अनुसार अहिलेको वृद्धिसँगै देशभरि रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार पाँच सय नाघेको छ।

तीमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाका तीन जिल्लामा छन्।

पछिल्लो तथ्याङ्क

मन्त्रालयले प्रकाशित गरेको विवरणअनुसार कोभिडसँग सम्बन्धित कारणले थप १५ जनाले ज्यान गुमाएका छन्।

बिहीवार अपरान्ह प्रकाशित विवरणअनुसार विगत घण्टामा १५ हजार ७ सय ५६ वटा परीक्षण पीसीआर विधिबाट र ६ हजार ७२ वटा एन्टिजन विधिबाट कुल २१ हजार ८ सय ८ परीक्षण गरिएको थियो।

कुल परीक्षण गरिएकामध्ये सङ्क्रमित पाइने दर झन्डै ३७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

अहिले देशभरि सङ्क्रमितको सङ्ख्या ९० हजार ५ सय ७६ रहेको तथ्याङ्कले देखाउँछ। तीमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन्।

नाकामा परीक्षण

नाकामा परीक्षण

अहिले आईसीयूमा २ सय ५७ जना र भेन्टिलेटरमा ४९ जना बिरामी भएको मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा निको हुने सङ्क्रमितको सङ्ख्या ५ हजार २ सय ९२ रहेको छ।

पुसको अन्तिम सातादेखि नेपालमा प्रत्येक दिन धेरैमा कोभिड १९ पुष्टि भइरहेको छ।

अस्पतालमा भर्ना हुने सङ्ख्या कम

अहिले सङ्क्रमण देखिएका अधिकांश व्यक्ति २१ देखि ४० वर्ष उमेर समूहका छन्।

सबैभन्दा बढी सङ्क्रमित वागमती प्रदेशमा देखिएका छन्।

वीर अस्पतालस्थित कोभिडसम्बन्धी फोकल पर्सन डा. अच्युत कार्कीका अनुसार अहिले अस्पताल भर्ना भएका व्यक्तिमध्ये ८० देखि ९० प्रतिशत गम्भीर लक्षण भएकाहरू छन्।

उहाँका अनुसार मध्यम खालका बिरामीहरू ५ देखि ७ दिनभित्र अस्पतालबाट घर फर्कने गरेका छन् भने गम्भीर अवस्थाका बिरामीहरूले दुई हप्ता वा त्यो भन्दा लामो समय उपचार गराउनुपरेको अवस्था छ।

उच्च ज्वरो, अक्सिजनको मात्रामा कमी र अरू गम्भीर खालका लक्षणहरू देखिएका कारण अरू अस्पतालले पठाएका बिरामीहरू वीर अस्पतालमा आएका उहाँले बताउनुभयो।

पछिल्लो समय ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित भएका व्यक्तिहरू चाँडै सङ्क्रमणमुक्त भइरहेको अनुभव पनि चिकित्सकहरू सुनाउँछन्।

“हामीले उपचारका मापदण्ड अनुसार हेर्दा घरमै आइसोलेशनमा बस्नेहरू पाँचदेखि सात दिनमा नेगेटिभ आएको पाएका छौँ। तर नेगेटिभ नआए पनि सात दिनमा भाइरस निष्क्रिय हुन्छ।”डा. कार्कीले थप्नुभयो,”त्यही भएर परीक्षण नै गराउनुपर्छ भन्ने जरुरी छैन। तर लक्षण गइरहेको छैन भने परीक्षण गराउनु वा चिकित्सक सल्लाह लिनु उपयुक्त हुन्छ।”

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमण दर वृद्धि भइरहेको बताउँदै आएका छन्।

खोप अभियान

खोप अभियान

सामान्य लक्षण देखिएका मानिसहरू परीक्षण गर्न नगएकाले सङ्क्रमितको सङ्ख्या तथ्याङ्कले देखाएभन्दा निकै बढी भएको विज्ञहरू बताउँछन्।

हालसम्म नेपालमा ११ हजार ६ सय ८७ जनाको कोभिडका कारण मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयले गएको वैशाख महिनामा देखापरेको डेल्टा भेरिअन्टको लहरको तुलनामा यसपालि सघन उपचार कक्षमा भर्ना हुने दर चार गुणाभन्दा कम रहेको बताएको छ।

साथै भेन्टिलेटरको आवश्यकता पर्ने बिरामीको सङ्ख्या पाँच गुणाभन्दा कम रहेको मन्त्रालयले जनाएको छ।

तर अझै पनि सङ्क्रमणको जोखिम उच्च नै रहेकाले चनाखो हुनुपर्ने स्थिति रहेको मन्त्रालयको भनाइ छ।( स्रोतःबीबीसी नेपाली)

Share Now

Leave a comment.