काठमाडौं, १६ माघ । नेपालमा थप ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण देखिएके छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयले सार्वजनिक गरेको विवरणमा जनाइए अनुसार १३ हजार १ सय ४५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
देशभर ९ सय ९ सय १० जनाको पिसिआर परीक्षण गर्दा ३ हजर ४९ जनामा र ३ हजार २ सय ३५ जनामा एन्टिजेन परीक्षण गर्दा ४ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ३ सय ५९ जना निको भएका छन्।
यस्तै पछिल्लो चार दिनमा ३२ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
उपत्यकामा सङ्क्रमणको अवस्था
गत साता आइतवार थपिएका ५८ प्रतिशतभन्दा बढी सङ्क्रमित उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा थिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत आइतवार सार्वजनिक गरेको विवरणमा देशैभरि थपिएका ६ हजार ४ सय ६२ सङ्क्रमितको आधाभन्दा धेरै ३ हजार ७ सय ९१ जना उपत्यकामा भएको उल्लेख छ।
तर साताको अन्तिम दिन थपिएका नयाँ सङ्क्रमितको एकतिहाई मात्रै काठमाडौं उपत्यकामा छन्। सरकारले शनिवार पुष्टि गरेका ४ हजार ९ सय ४ नयाँ सङ्क्रमितमध्ये ३७ प्रतिशत उपत्यकामा थिए।
देशैभरि थपिएका सङ्क्रमितको एकतिहाई सङ्ख्या उपत्यकामा थपिँदा बाँकी दुईतिहाईजति सङ्क्रमित उपत्यकाबाहिर थपिएको मन्त्रालयको तथ्याङ्कमा देखिन्छ।
गत साताको तुलनामा देशैभरि सङ्क्रमितको सङ्ख्यामा कमी आइरहे पनि उपत्यकाबाहिर सङ्क्रमण फैलिने क्रम अझै उच्च रहेको अधिकारीहरूले बताएका छन्।
काठमाडौं उपत्यकामा सङ्क्रमण दर र सक्रिय सङ्क्रमितको सङ्ख्या दुवै निरन्तर घटिरहेको तथ्याङ्कले देखाउँछ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा.शेरबहादुर पुन पछिल्ला दिनहरूमा अस्पतालमा बिरामीको चाप पनि घटिरहेको बताउँनुहुन्छ।
“पहिला बिरामीहरूको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको थियो। तर पछिल्लो साताबाट बिरामीको चापमा कमी हुँदै आएको छ”, डा. पुनले भन्नुभयो, “यो हप्ताबाट अझै कमी हुन्छ भन्ने मेरो अनुमान छ।”
ओमिक्रोन भेरिअन्ट छिटो फैलिने र छिटो निको हुने भएकाले यसको लहर अब कम प्रभावकारी हुँदै जाने डा. पुनको आकलन छ।
अहिले नेपालमा कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमणको नयाँ लहर आएको विज्ञहरूको भनाइ छ।
उपत्यकाबाहिरको अवस्था

मन्त्रालयका अनुसार प्रदेश नं १ मा झापा मोरङ र सुनसरी तथा मधेश प्रदेशमा धनुषा सप्तरी र सिराहामा ५ सय भन्दाबढी सक्रिय सङ्क्रमित छन्।
बागमतीमा उपत्यकाबाहेक चितवन, मकवानपुर काभ्रेपलाञ्चोक र नुवाकोट तथा गण्डकीमा कास्की नवलपरासी पूर्व र तनहुँमा ५ सय भन्दाबढी सक्रिय सङ्क्रमित छन्।
लुम्बिनीका बाँके, रूपन्देही र दाङ तथा सुदूर पश्चिमको कैलालीमा सक्रिय सङ्क्रमितहरूको सङ्ख्या ५ सय भन्दाबढी छ।
उपत्यकाबाहिर परीक्षणको सुविधामा समस्या र परीक्षण गराउनैपर्ने बाध्यता कम हुने भएकाले पनि सबै सङ्क्रमितहरू परीक्षणको दायरामा नआएको हुनसक्ने डा. पुन ठान्नुहुन्छ।
“यो लहरमा काठमाडौंमा नै परीक्षण कम भयो। बाहिर अझै कम परीक्षण हुने भएकाले सङ्क्रमितको सङ्ख्या बढी पनि हुनसक्छ”, उहाँले भन्नुभयो।


















