काठमाडौँ, १६ माघ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्षसहित विभिन्न पदाधिकारी तथा विभागीय प्रमुख मनोनीत गर्नुभएको छ ।
लिङ्देनले लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरीलाई उपाध्यक्षमा मनोनीत गर्नुभएको छ भने ओखलढुंगाका राजेन्द्र गुरुङ र मोरङका प्रल्हादप्रसाद साहलाई महामन्त्रीमा।
अध्यक्ष लिङ्देनले भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाललाई पार्टीको प्रवक्तामा मनोनीत गर्नुभएको छ ।
यस्तै रापप्राको सहप्रवक्तामा प्रविनकुमार थोकर तामाङ, दिनेशकुमार साह, पूर्णबहादुर चन्दले जिम्मेवारी पाउनुभएको छ ।
अध्यक्ष लिड.देनले सहमहामन्त्रीमा मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल, रीना गुरुङ र सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अली, दिपककुमार राईलाई मनोनीत गर्नुभएको छ ।
त्यसैगरी राप्रपाको आर्थिक विभागमा दिनेश श्रेष्ठ, धर्म तथा संस्कृति समन्वय विभागमा पुष्पराज पुरुष, सूचना तथा प्रविधि विभागमा रविन चाम्लिङ, तराईरमधेस विभागमा रामप्रताप साह, अभिलेख तथा मूल्यांकन विभागमा मीना सुवेदी, सहकारी समन्वय विभागमा सुदर्शन थापाले जिम्मेवारी पाउनुभएको छ ।
यसैगरी, रमानन्द न्यौपानेलाई केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा मनोनयन गरिएको राप्रपाले आइतबार जारी विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
राप्रपा केन्द्रीय समिति १ सय ९९ सदस्यीय हुने व्यवस्था छ । जसमा १ सय ४९ जना महाधिवेशनबाट निर्वाचित भएका थिए भने बाँकी ५० जना नियुक्त गर्ने अधिकार विधानले अध्यक्षलाई दिएको छ ।


















