वीरगञ्ज(पर्सा),२६ फागुन । नेपाल सरकारको प्राथमिकतामा रहेको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन जडान गर्ने काम शुरु भएको छ ।
सीमावर्ती शहर भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ३६.२०६ किमी लामो पेट्रोलियम पाइपलाइन जोड्ने कामको जिम्मा पाएको भारतीय कम्पनी लिखिया इन्फ्रास्ट्रक्चरका प्राविधिकले पाइप जोड्ने काम शुरु गरेका हुन ।
पन्ध्र महिनाभित्र पाइपलाइन विस्तार कार्य सम्पन्न गर्ने लक्ष्य लिएको सिमरास्थित पेट्रोलियम पाइपलाइन विस्तार आयोजनाले पाइप जोड्ने काम सकिएपछि जमीनमुनि पुर्ने काम गर्नेछन् ।
त्यसका लागि खाल्डो खन्ने यन्त्र भारतबाट ल्याउन लागिएको आयोजनाका प्रमुख शरदकुमार पौडेलले राससलाई बताउनुभयो । सो पाइपलाइन सिर्सिया नदीमुनिबाट लगिने बताइएको छ ।
भारत सरकारको इण्डियन आयल कर्पोरेशन (आइओसी)को करीव ३५० करोडको लागतमा निर्माण भइरहेको सो पाइपलाइनका लागि सबै पाइप आइसकेकाले जडान गर्ने काम धमाधम भइरहेको छ ।
नेपालतर्फ रक्सौल–अमलेखगञ्जसम्म ३६.७ किमी र भारत मोतीहारी रक्सौलसम्म ३३.२ किमी गरी ६९.९ किमीको पाइपलाइन निर्माण हुन लागेको आयोजनाले जनाएको छ ।
आयोजना निर्माणको जिम्मा पाएको आइओसीले जनवरीदेखि आयोजनाको लागि आवश्यक पाईप वीरगञ्जमा ल्याउन थालेको छ। आयोजनाले वीरगञ्जस्थित चिनी कारखानाको दुई बिघा जग्गा प्रतिमहिना रु २ लाख ३० हजारका दरले भाडामा लिएर पाइप भण्डारण गरिएको छ ।
पाइपलाइन प्रयोगमा आएपछि प्रतिघण्टा दुई लाख लिटर इन्धन अमलेखगञ्जको डिपोमा खसाल्ने लक्ष्य राखिएको छ ।
पाइपलाइनको सञ्चालन पछि नेपालका लागि पेट्रोलियम पदार्थको ढुवानीमा हुने खर्च बच्नुका साथै नेपाल र भारतको सीमावर्ती क्षेत्रका हुने बन्द, हड्ताल, आन्दोलन, चक्काजाम जस्ता घट्नाबाट पनि पेट््रोलियम आपूर्ति रोकने छैन् ।
पाइपलाइन सञ्चालन भएपछि नेपाल आयल निगम र नेपाल सरकारलाई बार्षिक रु १ अर्ब ५० करोड छ वर्षसम्म बचत हुने बताइएको छ ।
यसले पेट्रोलियमको चोरी, चुहावट, मिसावटको समस्या पनि हटाउने छ ।
हाल निर्मित पाइपलाइनबाट एक पटकमा ३ हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ ।
वीरगञ्जको शंकराचार्यद्वारबाट ३ किमि गण्डक नहरसम्म बाइपास सडकको दायाँ भाग र त्रिभुवन राजपथको गण्डक अमलेखगञ्ज खण्डमा सडकको दायाँबायाँ भागमा पाइप विछ्याउने योजना छ ।
भारतको महाराष्ट्रको जिन्दल कम्पनीले माटो परीक्षण गरी जडान भइरहेको पाइपको गोलाइ १०.७५ इञ्च तथा मोटाइ ०.२१९ इञ्च छ ।