Prakash Adhikari February 12, 2022

 

काठमाडौं, २९ माघ । इजरायलमा रोजगारीका लागि छानिएका झण्डै १२ सय नेपालीहरू काममा जाने क्रम सुरु भएको छ।

दुई देशबीच दोहोरो श्रम सम्झौता भएलगत्तै ज्यानुअरी १९ देखि हालसम्म २ सय ९७ जना नेपाली इजरायल पुगिसकेको वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले जानकारी दिनुभएको छ।

विभाग र इजरेलको जनसङ्ख्या तथा आप्रवासनसम्बन्धी निकाय पीआईबीएबीच भएको दोहोरो सम्झौतापछि ८ सय २१ जना महिलासहित १ हजार १ सय ७५ जना छानिएको सुनुवारले बताउनुभयो।

उहँले भन्नुभयो,”गत साउन महिनामा सूचना जारी गरी इजरेलका लागि सहायक कामदार माग गरेका थियौँ। हामीले छानिएका १ हजार ६ सय जनामध्ये १ हजार १ सय ७५ जना गोलाप्रथाबाट छनौट भएका हुन्।”

इजरायलमा नेपाली कामदारहरूले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नेछन्।

के हो सम्झौता ?
२०७७ सालको असोज महिनामा नेपाल र इजरेलबीच श्रम सम्झौता भयो। त्यसलगत्तै नेपाली श्रमिक माग गरियो।

प्रक्रिया अनुरूप इजरेल जान योग्य ठहरिएका व्यक्तिहरूको विवरण पेस भयो। त्यही विवरणका आधारमा स्ट्यान्डर्ड इम्प्लोयमेन्ट कन्ट्र्याक्ट एसईसी भएको निर्देशक सुनुवारले बताउनुभयो।

“इजरेल सरकारद्वारा मान्यता प्राप्त स्याहार केन्द्रहरूको मागका आधारमा पीआईबीएले विभागमा सम्झौता पठाउन थालियो”, उहाँले भन्नुभयो।

सम्झौतासहित थप विवरण पीआईबीए र नेपालस्थित इजरेली राजदूतावासमा पठाए पछि भिसा जारी भएको हो। हालसम्म ९ सय ९९ जनाको सम्झौता प्राप्त भइसकेको र उनीहरू जाने प्रक्रियामा रहेका छन्।

इजरायल जानुपूर्व कामदारहरूलाई दुई दिनको पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन भएको थियो।

वैदेशिक रोजगारका लागि विमानस्थलमा लाइन

वैदेशिक रोजगारका लागि विमानस्थलमा लाइन

कसरी जान्छन् श्रमिक ?
वैदेशिक रोजगार ऐन २०६४ का अनुसार कामदारहरूले श्रमिक कल्याणकारी कोषमा १ हजार ५ सय रुपैयाँ बुझाउनु पर्छ।

त्यस्तै स्वास्थ्य परीक्षण, जीवनबिमा र श्रम स्वीकृति पनि अनिवार्य गरिएको छ।

कामदारले नेपाल प्रहरीबाट असल चरित्रको प्रमाणपत्र समेत लिनु पर्छ।

भिसा जारी भइसकेपछि कामदारहरूले श्रम स्वीकृति लिनु पर्छ।

“तत्काल इजरेल जाने थप कामदारहरूलाई श्रम स्वीकृति दिएका छैनौँ। प्रक्रियामा हुनुहुन्छ”, वैदेशिक रोजगार कार्यालयका सूचना अधिकारी हरिराम नागीलाले जानकारी दिए।

स्वास्थ्य परीक्षण पेस गरेकाहरू मात्र रोजगारका लागि जान पाउने प्रावधान छ।

जाने खर्च कति ?
विभागले इजरेल जाने कामदारहरूले अनुमानित १ लाख ६४ हजार ७ सय रुपैयाँ खर्च गर्नु पर्ने सूचना जारी गरेको थियो।

आवश्यक खर्चहरूमा हवाई भाडा १ लाख ४० हजार, स्वास्थ्य परीक्षणको कम्तीमा १० हजार र पीसीआर परीक्षण शीर्षक उल्लेखित थिए।

“तर प्रतिस्पर्धात्मक माध्यमबाट हवाई कम्पनी पनि तय भयो। श्रमिकहरू ५९ हजार ९ सय ९० रुपैयाँमा उडे”, निर्देशक सुनुवारले जानकारी दिनुभयो।

सम्झौताका फाइदा कस्ता ?
दोहोरो सम्झौताले नेपाली कामदारलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउनु नै पहिलो फाइदा भएको सुनुवार बताउँछन्।

त्यस्तै पारिश्रमिकको निश्चिततालाई पनि अर्को लाभ मानिन्छ।

कामका लागि इजरेल पुगेका नेपालीले कम्तीमा ५ हजार ३ सय इजरेली सेकल (करिब दुई लाख रुपैयाँ) पाउने देशबीचको श्रम सम्झौतामा उल्लेख गरिएको सुनुवार बताउँछन्। तर श्रमिकका लागि स्याहार गृहले पठाएको सम्झौतामा भने ६ हजार ५ सय सेकल (करिब साढे २ लाख रुपैयाँ) सम्म उल्लेख गरिएको बताउनुभयो।

सेकल

हरेक कामदारसँग एक वर्षको सम्झौता छ। रोजगारदाताले चाहेको खण्डमा उक्त सम्झौता पाँच वर्षसम्म नवीकरण गर्न सक्छन्।

तोकिएको समयावधिमा नेपाल फर्कनेहरूलाई त्यहाँको सरकारले मासिक पारिश्रमिकको १२.५ प्रतिशतले हुने रकम रोजगारदाताले कामदारको नाममा खोलिएको ब्याङ्क खातामा जम्मा गर्नेछ।

“सोही तहको अन्य कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधा वृद्धि हुँदा नेपाली कामदारको पनि तलब बढ्नेछ”, उहाँले भन्नुभयो।

ती कामदारले सिकेको सीप, बटुलेको अनुभव र जम्मा गरेको पुँजी भोलि नेपालको आन्तरिक श्रम बजारमा काम लाग्नेमा सुनुवार आशावादी सुनिन्छन्।

“स्वरोजगारको बाटो खुल्छ। व्यक्ति, परिवार र देशको आर्थिक उन्नतिमा सानै भए पनि टेवा पुग्छ भन्ने विश्वास छ।”

अन्य देशबाट पनि प्रस्ताव

श्रम सम्झौताको प्रशंसा भइरहेको विभागका निर्देशक सुनुवारको दाबी छ।

इजरायलसँगको समन्वयनबाट प्रभावित भएर बेलायत र जापानले पनि सोही कामका लागि कामदार लाने प्रस्ताव अघि सारेको उहाँको कथन छ।

“केही प्रक्रिया अघि बढेका छन्। हालका लागि इजरायल गएका नागरिकहरूको सुविधा, पारिश्रमिक र सुरक्षाका लागि निगरानीमा जोड दिएका छौँ “, सुनुवारले बताउनुभयो ।

Share Now

Leave a comment.