Prakash Adhikari February 13, 2022

 

रत्ननगर(चितवन), २९ माघ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले पार्टीका सबै तहका नेता कार्यकर्ताहरुलाई बैशाख ३० गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचन र त्यसपछि हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि एकजुट भएर लाग्न आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेस चितवनका नेता तथा पूर्व सांसद एकनाथ रानाभाटको स्मृति दिवसमा आयोजित कार्यक्रमलाई शनिवार संबोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको हो ।

कांग्रेस प्रवक्ता डा.महत शनिवार नै काठमाडौंबाट चितवन आइपुग्नुभएको हो ।

उहाँले स्मृति दिवसको कार्यक्रमलाई संबोधन गर्दै नेता रानाभाट जस्ता आफ्नो ज्यानको बाजी लगाएर लोकतान्त्रिक आन्दोलनमा होमिने र पार्टी संगठन निर्माणमा लाग्ने नेता र कार्यकर्ताका कारण नेपाली कांग्रेस जीवन्त बन्न सकेको बताउनुभयो ।

उहाँले निकट भविष्यमा हुने सबै तहको निर्वाचन जित्नुपर्ने आवश्यतामा जोड दिंदै भन्नुभयो, “पार्टीको मूल लक्ष्य जनताको सेवा र देशको विकास हो । त्यसलाई हासिल गर्न सत्तामा जानु पर्दछ । त्यसको लागि निर्वाचन जित्नुपर्दछ । त्यसैले हामीले पूर्ण क्षमता लगाउनु पर्दछ । एकजुट भएर लाग्नुपर्दछ ।”

कम्युनिष्टहरुको भ्रम चिरौ

पार्टी  प्रवक्ता डा.महतले संसारभर कम्युनिष्ट विचारधारा कमजोर भएको र कम्युनिष्ट पार्टीहरु कमजोर भएको बेलामा नेपालमा कम्युनिष्टहरुले जनतामा भ्रम फिजाएर टिकीरहेको बताउनुभयो ।

उहाँले अमेरिकी सरकारले नेपालको सडक विस्तार र विद्युत प्रशारणलाईन निर्माणका लागि मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) मार्फत दिएको ६० अर्ब बढीको अनुदान सहयोगको  बारेमा फैलाइएको भ्रम चिर्न आवश्यक भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो सहयोग हामी आफैले मागेको हो । सन् २०१२ मा डा. बाबुराम भट्टराईको सरकारको पालादेखि यो अगाडि बढ्यो । त्यस पछि  खिलराज रेग्मी, सुशील कोइराला, के.पी. शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवाको नेतृत्वमा बनेका सबै सरकारले यसलाई अगाडि बढाए । नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी , फोरम लोकतान्त्रिक लगायतका दलहरु सम्मिलित सरकार बनेको समयमा २०७४ मा यसमा हस्ताक्षर भएको हो । सबै राजनीतिक दलहरुले यो संझौता अगाडि बढाउन सघाएका छन् ।”

कांग्रेस प्रवक्ता डा.महतले यो सझौता अनुदान सहयोग भएको, यसमा आउने सहयोग परिचालन गर्न नेपाल सरकारको अर्थसचिवको अध्यक्षतामा एमसीए नेपाल गठन भएको, यसको ठेक्का यही समितिले प्रतिस्पर्धामा लगाउन पाउने, यसको साँबा र ब्याज पनि तिर्न नपर्ने भएकोले यो संझौता स्वीकार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशबाट लिने ऋण सहयोगमा समेत दाता राष्ट्र वा दातृ निकायका कन्सल्टेण्ट र ठेकेदार आउने जोखिम हुन्छ । तर यो अनुदान सहयोगमा त्यस्तो छैन तर नेपालका एकथरी बामपन्थी दलहरु यसको विरोधमा उत्रिएका छन् । यो भ्रमलाई हामीले चिर्नु छ ।”

प्रवक्ता डा.महतले सभामुखलाई सरकारले संसदमा दर्ता गरेको प्रस्ताव अगाडि बढाउने कि नबढाउने भन्ने स्वविवेकीय अधिकार नभएको बताउनुभयो । उहाँले भन्नुभयो,“सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको प्रतिनिधि रहेको थलोमा सरकारले लैजाने यो प्रस्तावमा छलफल हुन दिंऔ। त्यही दूधको दूध पानीको पानी छुट्टिइहाल्छ ।”

नेता डा.महतले कम्युनिष्टहरुले तिल जति काम गरेर त्यसलाई पहाड जसरी प्रस्तुत गर्ने तर कांग्रेसले पहाड जति  काम गरेर तिल जति पनि प्रचार गर्न नसकेको पनि बताउनुभयो ।
उहाँले पार्टीका सबै साथीहरुलाई पार्टीले गरेका असल कामहरु लिएर जनताका बीचमा जान र आगामी निर्वाचनमा सबै तहमा बढी भन्दा बढी सिट जित्ने वातावरण तयार पार्न पनि आग्रह गर्नुभयो ।
Share Now

Leave a comment.