Prakash Adhikari February 15, 2022

 

काठमाडौं, ३ फागुन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठमा हुने सूचना प्रकाशन गर्‍यो। त्यसयता काठमाडौंको निजी उच्च माध्यमिक विद्यालमा विज्ञान सङ्कायमा अध्ययनरत रामेछापकी नन्दिता केसीको समय दबावपूर्ण बितिरहेको छ।

परीक्षाअघि पाठ्यक्रम नसकिने चिन्ता र पाठ्यक्रम सक्नकै लागि भर्चुअल कक्षा द्रुत गतिमा अघि बढ्नुले समस्या निम्त्याएको केसी बताउनुहुन्छ।

“कक्षा अनलाइनमा भइरहेको छ। प्राविधिक समस्या कहिले शिक्षकले भोग्नु पर्छ कहिले हामीले। तर अहिले मूल समस्या पाठ्यक्रम आधा पनि नसकिनु हो”, केसीले भन्नुभयो।

शिक्षकहरू पाठ्यक्रम चैतको अन्त्यसम्म सक्दा विद्यार्थीका लागि परीक्षा तयारी समय नहुने बताइरहेका छन् भने शिक्षाविद् र अधिकारीहरू महामारीले बिथोलिएको शैक्षिक सत्र मिलाउन यसले सहज बनाउने धारणा राख्छन्।

विद्यार्थीलाई गार्‍हो
कलेजले चैतको अन्त्यसम्म पाठ्यक्रम सकाएर आन्तरिक परीक्षा लिने सूचना जारी गर्दा झन् दबाव थपेको केसीले सुनाउनुभयो।

ूदुई महिना पनि बाँकी छैन। पाठ्यक्रम सक्नकै लागि ४० मिनेटको अनलाइन कक्षामा पीडीएफ पठाउनु बाहेक बुझ्नु वा बुझाउने काम भएकै छैन,ू उहाँको गुनासो छ ।

प्रायः विद्यालयले परीक्षा तालिका सार्वजनिक भएपछि परीक्षा सुरु हुनुभन्दा एक महिना अघिदेखि तयारी बिदा दिन्छ।

त्यस समय भौतिक कक्षा सञ्चालन भए विद्यार्थीको समस्या हल हुने केसीको धारणा छ।

काठमाडौं मोडल कलेजका प्रधानाध्यापक डा. नवीन्द्रबहादुर अर्यालले परीक्षा अगावै पाठ्यक्रम सकिने भए पनि विद्यार्थीहरूलाई तयारीका लागि पर्याप्त नहुने बताउनुभयो।

डा. अर्याल भन्नुहुन्छ, “जेठमै परीक्षा हुनुले विद्यालयलाई त समस्या छैन। तर कहिले भौतिक त कहिले अनलाइन कक्षा गर्नु परेकाले विद्यार्थीहरूलाई गाह्रो बनाएको छ।”

कक्षा ११ को परीक्षा

कक्षा ११ को परीक्षा

खलबलिएको शैक्षिक सत्रलाई राहत
कोभिड १९ का कारण प्राथमिकदेखि उच्च माध्यमिक तहसम्म सबैको अध्ययनअध्यापन प्रभावित भएका छन्।

तर तत्कालका लागि शैक्षिक सत्रलाई प्रभावित गर्ने गरी परीक्षा सार्ने अवस्था नभएको शिक्षाविद् धनञ्जय शर्मा बताउनुहुन्छ।

“कोरोनाभाइरस महामारीका कारण हाम्रो शैक्षिक सत्र दुई वर्ष खलबलिएको छ। त्यसलाई लयमा फर्काउन परीक्षा राहत हो”, शर्माले भन्नुभयो।

नेपालमा महामारीको तेस्रो लहर केही कम भएसँगै विद्यालयहरू खुल्न थालेका छन्। त्यसैले बिदा कटौती गरी शिक्षकहरूले पर्याप्त समय दिएको खण्डमा पाठ्यक्रम सक्न समस्या नहुने शर्माको धारणा छ।

“यस प्रक्रियामा शिक्षकहरूको भूमिका महत्त्वपूर्ण छ। उहाँहरूले मिहिनत गर्ने, बिदाको दिन पनि समय दिने, विद्यालय नियमित सञ्चालन हुने र विद्यार्थी पनि अनुपस्थित नहुने हो भने पाठ्यक्रम सकिन्छ”, शर्माले बताउनुभयो।

विद्यार्थीहरूको सिकाइमा प्रभाव
हतार र दबावमा पाठ्यक्रम सक्दा विद्यार्थीहरूको सिकाइ प्रक्रिया भने प्रभावित हुनसक्ने शर्माको विचार छ।

“पाठ्यक्रम पाठ गरेर सक्ने कुरा होइन। त्यसकारण हतारमा सबै कुरा भ्याउन खोज्दा विद्यार्थीले नबुझ्ने समस्या हुनसक्छ। तर यो परिस्थितिजन्य अवस्था हो”, उहँले बताउनुभयो।

शैक्षिक सत्र सार्दा त्यसको दीर्घकालीन असर पर्ने उहाँको कथन छ।

“एउटा परीक्षा सार्दा शैक्षिक पात्रो नै फेर्नु पर्ने हुनसक्छ। त्यसैले विद्यार्थीको सिकाइमा पर्ने असर कम गर्न विद्यालय, शिक्षक र विद्यार्थीबीच उचित समन्वयन हुनुपर्‍यो।”

अनलाइन कक्षा

अनलाइन कक्षा

जेठको दोस्रो सातापछि परीक्षा
एसइईसँगै कक्षा १२ को परीक्षाको तयारी थालेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार जेठको दोस्रो सातापछि परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ।

“महामारीले निम्त्याएको परिस्थिति केही शान्त भएपछि पठनपाठन नियमित बन्न थाल्यो। त्यसैले पाठ्यक्रम सकिने भएकाले परीक्षाको गर्न लागेका हौँ “, शर्माले भन्नुभयो।

उहाँले शैक्षिक सत्रलाई खेर जान नदिनका लागि कक्षा ८, कक्षा १० र कक्षा १२ को परीक्षा सञ्चालन गर्नु पर्ने बताउनुभयो। आफूहरूले परीक्षालाई नियमित र व्यवस्थित बनाउन जोड दिएको दाबी गर्नुभयो।

उहाँले यसै महिनाको दोस्रो साता तालिका सार्वजनिक हुने जानकारी समेत दिनुभयो।

विद्यालय बन्द हुँदा वैकल्पिक माध्यमबाट समेत अध्यापन भएकाले पाठ्यक्रम सकिनु र परीक्षा गर्नु समस्या नहुने उहँको तर्क छ।

‘परीक्षा गर्ने निर्णय बोर्डको मात्र होइन’

कोभिड १९ महामारी सुरु भएको करिब एक वर्षसम्म पठनपाठन ठप्प प्राय थियो। जसकारण शैक्षिक सत्र पनि धकेलियो।

बिस्तारै भर्चुअल एवं अन्य वैकल्पिक माध्यममार्फत पढाई भएकाले समयमै परीक्षा लिने निर्णय भएको उहाँ सुनाउनुहुन्छ।

यद्यपि परीक्षा सञ्चालनको निर्णय राष्ट्रिय परीक्षा बोर्डको मात्र नभएको अध्यक्ष शर्माले बताउनुभयो।

हरेक जिल्लाका जिल्ला शिक्षा समन्वयन एकाईका प्रमुख, क्षेत्रीय र प्रादेशिक इकाइका प्रमुख, शिक्षा मन्त्रालय, प्रदेश निर्देशनालयलगायत सँगको छलफलपछि यो निर्णयमा पुगेको उहाँको दावी छ ।

“उहाँहरूले आफ्नो जिल्ला वा स्थानीय तहको पठनपाठन कहाँ पुगेको छ र कसरी सक्न सकिन्छ भन्ने विषयको आकलन गरेर परीक्षा सञ्चालन गर्ने कुरा भएको हो”,उहाँले भन्नुभयो, “फागुन र चैत दुई महिना पठनपाठन भएपछि वैशाख वा जेठमा परीक्षा गर्नुले अप्ठ्यारो नपार्ने देख्यौँ।”

कुनै विद्यालय वा जिल्लामा पाठ्यक्रम सक्न समस्या भए ती सम्बोधन गरिने उहाँले जानकारी दिनुभयो।(बीबीसीबाट)

Share Now

Leave a comment.