Prakash Adhikari February 18, 2022

 

काठमाडौं, ६ फागुन । प्रतिनिधिसभाको आज दिउँसो बस्ने बैठकमा अमेरिकी सहयोग नियोक मिलिनियम च्यालेञ्ज कर्पोरेशनबाट प्राप्त अनुदान सहयोगसम्बन्धी संझौता छलफलका लागि प्रस्तुत गर्ने विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १० बजे बस्ने भएको छ ।

यसै विषयमा सत्ता गठबन्धन दलहरूबीच सहमति कायम गर्न बिहिवार साँझ बसेको बैठकमा मतैक्यता हुन नसकेपछि शुक्रबार बिहान १० बजे गठबन्धनका शीर्ष नेताहरु बस्ने गरी बैठक समापन भएको थियो ।

कांगेसले एमसीसी अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विपक्षमा उभिएपछि यसअघि फागुन ४ गते नै संसदमा टेबल गर्ने भनिएको प्रस्ताव केही दिन पछि धकेलिएको थियो ।

एमसीसी प्रस्ताव पारित गर्न आफूहरु लचिलो हुने तर न्यायालयमा नेतृत्व गर्ने प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने शर्त राखेपछि नेपाली कांग्रेसले प्रधानन्यायाशी चोलेन्द्रसमशेर जबराविरुद्ध महाभियोग दर्ता गर्न तयार भएको थियो । प्रधानन्यायाधीश राणाविरुद्ध फागुन १ गते नै महाभियोग दर्ता भैसकेको छ । उहाँ निलम्बित भैसक्नुभएको छ ।

बिहीबारको बैठक र असहमति

बिहीबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार संसदमा एमसीसीसंग भएको संझौता छलफलका लागि प्रस्तुत गर्न प्रस्ताव राख्दै भन्नुभएको थियो, ‘अस्ति तपाईहरुले टेबल गर्न दिन्छु भन्नुभएकै हो, अब टेबल गर्न दिनुस् ।’

एमसीसी अनुमोदनका लागि प्रस्तुत हुँदा पक्षमा मत दिने कि विपक्षमा भन्ने रोजाई तपाईँहरुको हो । छलफलमा त ल्याउन दिनुहोस भन्ने उहाँको धारणा थियो ।

तर बैठकमा उपस्थित नेकपा माओवादी केन्द्रका नेताहरूले एमसीसी अघि बढाएर सरकार छाड्ने र विपक्षमा मत दिने संसदीय दलको निर्णय भएको बताउदै संसद अवरोध कायमै रहेको बेला एमसीसी टेबल हुन नसक्ने बताउनुभयो ।
बैठकमाअध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ प्रकाशले अहिलेसम्म ऋण तथा अनुदान सम्झौता संसदमा नलगेको भन्दै एमसीसीबारे पनि छलफल गर्नुपर्ने बताउनुभयो।

माओवादी नेताहरुले एमालेसँग सम्वाद गरेर संसद अवरोध हटाउने वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी टेबल गर्नमा आफ्नो दलको आपत्ति नरहेको तर ं संसदको अवरोधका बीच छलफल हुन नसक्ने भएकोले पहिले अवरोध हटाउनुपर्ने बताउनुभयो । उहाँले एमसीसीबारे छलफल गर्नकै लागि पार्टीले ७ गते स्थायी कमिटीको बैठक बोलाएकोले त्यसपछि टेबल गर्दा उचित हुने बताउनुभयो ।

जसपा विभाजित

बैठकमा जनता समाजवादी पार्टीका नेताहरूको पनि मतैक्यता देखिएकन । संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी टेबल गरेर अनुमोदन गर्नुपर्ने बताउनुभयो तर नेता राजेन्द्र श्रेष्ठ विपक्षमा देखिनुभयो ।

जसपा अध्यक्ष उपेन्द्र यादव भने उपत्यका बाहिर भएका कारण चार दलको बैठकमा सहभागी हुनुभएन।

संकल्प प्रस्तावमा पनि बामपन्थी असहमति

बैठकमा कांग्रेस महामन्त्री गगन थापाले संसदबाट एक संकल्प प्रस्ताव पास गरेर एमसीसी अनुमोदन गर्ने प्रस्ताव राख्नुभयो ।

एमसीसी सम्झौतामा उठेका प्रश्नहरुलाई लिएर सरकारले एमसीसीलाई सोधेको प्रश्न र एमसीसीको स्पष्टीकरण संसदमा संकल्प प्रस्तावको रुपमा लैजान आग्रह गर्दै उहाँले , ‘यसलाई नै अन्तिम मान्ने र काम गर्ने क्रममा त्यो भन्दा फरक पाए नेपाल सरकारले एकपक्षीय रुपमा खारेज गर्ने संकल्प गरौं ’ भन्नुभयो ।

तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘धेरै अगाडि बढिसक्यो’ भन्दै त्यसलाई अस्वीकार गर्नुभयो।

झण्डै ३ घण्टा छलफल गर्दा पनि कुनै सहमति जुट्न सकेन ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला लगायतले हतारमा निर्णय नगरौं, भोलि विहान शीर्ष नेताहरु मात्र बसौं भनेर बैठक टुंगियो ।

सोही सहमति अनुसार आज बिहान शीर्ष नेताहरुको बैठक बस्दैछ।

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले , ‘एमसीसीलाई पूर्ववर्ती सरकाले टेबल गरेको हो । सरकार अविछिन्न उत्तराधिकार हो । फेब्रुअरी २८ ९फागुन १६० सम्म यसलाई हामीले निष्कर्षमा पुर्‍याउनुपर्ने हुनाले ९प्रधानमन्त्रीले० टेबल गर्न प्रस्ताव गर्नुभएको छ । यही प्रस्तावको वरिपरि बसेर धेरै छलफल भएको छ । निष्कर्षमा पुगेका छैनौं ।’ भन्नुभएकोले गठबन्धनमै पनि सहमति जुट्ने झिनो आशा भने बाँकी छ ।

Share Now

Leave a comment.