मस्कट(ओमान), ७ फागुन । टी २० क्रिकेट विश्वकपको क्वालिफायर खेलमा नेपाले फिलिपिन्सलाई १ सय ३६ रनको विशाल अन्तरले पराजित गर्दै विश्वकपमा छनोट हुने संभावना बलियो बनाउदै गएको छ ।
शुक्रबार सम्पन्न आफ्नो समूहको पहिलो खेलमा नेपालले आयोजक राष्ट्र ओमानलाई ३९ रनले पराजित गरेको थियो । खेलमा नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको ओमानले पूरा गर्न सकेन । १७ ओभरमा ७८ रन जोडेको अवस्थामा नै ऊ अल आउट भयो।
दुई खेल जितिसकेको नेपालले अन्तिम खेल बुधबार क्यानडासंग खेल्ने छ । यो खेल जिते विजेताको रुपमा र हारे उपविजेताको रुपमा नेपाल सेमिफाइनलमा पुग्ने छ ।
फिलिपिन्ससंगको शानदार जित
आजको खेलमा प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलको शतक, दीपेन्द्र सिंह ऐरीको अर्ध शतक तथा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङ नेपालको शानदार जितको कारक बन्न पुगे ।
खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले दिएको २ सय १८ रनको लक्ष्य फिलिपन्सले हासिल गर्न सकेन । उसले २० ओभर ब्याटिड. गर्दै ८ विकेटको क्षतिमा ८२ रन मात्र जोड्न सक्यो।
फिलिपिन्सका लागि जोर्डन अलेग्राले २७, डानियल स्मिथले २०, जोनाथन हिलले ११, मिगी पोडोस्कीले ९, गुरभूपिन्दर चौहानले ६, कपिल कुमारले ४ हेनरी टेलरले १ रनको योगदान गरे ।

फिलिपिन्सलाई रोक्ने क्रममा नेपालका सन्दीप लामिछानेले ४ तथा गुल्शन झा, जितेन्द्र मुखिया, अबिनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐेरीले एक एक विकेट लिए ।
यस पहिले टस हारेर ब्याटिड. गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १८ रन जोडेको थियो ।
नेपालको विशाल स्कोरमा ओपनर ओपनर कुशल भूर्तेलले १ सय ४ रनको अविजित शतकीय इनिङ खेले।
५७ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका उनी अन्तर्राष्ट्रिय टी २० शतक बनाउने नेपालका तेस्रा खेलाडी बने।
उनका प्रारम्भिक जोडी आशिफ शेख भने गोल्डन डक आउट भए। पहिलो बलमा नै क्रस शट खेल्ने क्रममा उनी आउट भएका थिए।
आशिफ पछि ब्याटिड. सम्हाल्न आएका कुशल मल्ल १२ रनमा आउट भए । त्यसपछि मैदानमा आएका दीपेन्द्रसिंह ऐरी ८३ रनमा आउट भए। उनले ४७ बलमा ६ चौका र ४ छक्का प्रहार गरेका थिए।
कुशल भूर्तेल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १ सय ७१ रनको शतकीय साझेदारी गरे।
यो नेपाली टी २० आईमा कुनै पनि विकेटका लागि भएको ठूलो साझेदारी बन्यो।
खेलमा लोकेश बमले अविजित ६ रन बनाए।
कुशलको कीर्तिमान

ओमानमा भइरहेको क्रिकेट विश्वकप छनोट खेलमा फिलिपिन्स विरुद्ध भएको खेलमा शतक बनाएपछि खुशी साट्दै नेपाली खेलाडी कुशल भुर्तेल
छोटो समयमा आक्रामक ओपनरको छवि बनाएका कुशल भूर्तेल टी २० क्रिकेटमा शतक प्रहार गर्ने नेपालका तेस्रो खेलाडी बनेका छन्।
ओमानमा शनिवार भएको आइसीसी टी २० विश्वकप ग्लोबल छनोटमा उनले फिलिपिन्स विरुद्ध उक्त उपलब्धि हात पारेका हुन्।
नेपालबाट पारस खड्का टी २० मा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। सन् २०१९ मा उनले सिंगापुरविरुद्ध उनीहरूकै मैदानमा उक्त कीर्तिमान रचेका थिए।
खड्काले ५२ बलमा अविजित १सय ६ रन बनाएका थिए।
त्यस्तै ज्ञानेन्द्र मल्लले नेपालमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद सागका दौरान शतक प्रहार गरेका थिए।
भुटान विरुद्धको खेलमा उनले ५५ बलमा १ सय ७ रन बनाएका थिए।
कुशल भुर्तेलले भने ५७ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक पूरा गरे।
उनले कुल ६१ बल खेल्ने क्रममा १३ चौका र एक छक्का हानेर १ सय ४ रनमा अविजित रहे।
३२ बलमा उनले अर्ध शतक पूरा गरेका थिए।
ओपनरका रूपमा आएका भूर्तेलले पूरा २० ओभर खेले।
ओपनर साथी आशिफ शेख ुगोल्डन डक आउटु भएपछि भुर्तेलले कुशल मल्लसँग दोस्रो विकेटका लागि २७ रनको साझेदारी गरे।
तेस्रो विकेटका लागि भने उनले दीपेन्द्र सिंह ऐरीसँग १ सय ७१ रनको शतकीय साझेदारी गरे, जुन टी २० आईमा नेपालको कुनै पनि विकेटको ठूलो साझेदारी पनि हो।
काठमाडौंमा गत अप्रिलमा सम्पन्न थ्री नेसन्स कपमा लगातार तीन अर्ध शतक प्रहार गरेपछि भुर्तेल नेपाली क्रिकेटमा उदाएका थिए।
त्यो उपलब्धि सँगै राष्ट्रिय टोलीमा लामो समयदेखि समस्याको रूपमा रहेको ओपनिङ जोडीमा भूर्तेल र आशिफ शेख स्थापित भएका थिए।
प्रतियोगिता अन्तर्गत नेपालले समुह चरणको अन्तिम खेल क्यानडा बिरुद्ध सोमबार खेल्नेछ। खेल नेपाली समय ३ः४५ बजे बेलुका सुरु हुनेछ।
आजै सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेलमा ओमानले क्यानडालाई ९ विकेटले पराजित गर्दै सेमीफाइनल सम्भावना कायमै राखेको छ।
नेपाल र क्यानडा बीचको खेलमा नेपाल विजयी भए समुह विजेताको रुपमा सेमीफाइनल पुग्नेछ र समुह ‘ए’ को उपविजेतासंग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाई क्यानडाले पराजित गरेको खण्डमा पनि नेपाल नेट रन रेटमा शीर्ष दुईमा रहँदै सेमीफाइनल पुग्ने छ ।


















