काठमाडौं, १० फागुन । एमसीसी पारित गर्ने लगायत राज्य सञ्चालन विषयमा गठबन्धनका प्रमुख साझेदार मानिएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी जिम्मेवार बन्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसंग नजिकिन थाल्नुभएको छ ।
मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासहितको नेपाली कांंग्रेसको टिमसंग वार्ता गर्न एमालेका अध्यक्ष ओलीसहित वरिष्ठ नेताहरु बालुवाटार पुग्नुभएको छ।
पूर्वप्रधानमन्त्री ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडल र उपमहासचिव विष्णु रिमाल बालुवाटार पुग्नुभएको छ।
यस्तै सामूहिक छलफलमा कांग्रेसको तर्फबाट मीनेन्द्र रिजाल र पूर्णबहादुर खड्काले प्रधानमन्त्री देउवालाई साथ दिनुभएको छ ।
संसदमा एमसीसी टेबल भएपछि प्रधानमन्त्री देउवा र ओलीबीच भएको यो पहिलो छलफल हो।


















