Prakash Adhikari March 11, 2018

 

काठमाडौं, २७ फागुन(रासस)। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई भएको कुटपिट र अभियुक्तलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीमाथि कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

घटना भएको जानकारी आउनासाथ प्रधानमन्त्री कार्यालयले तत्काल कारवाहीको पहल गरेको बताइएको छ। यही फागुन २४ गते राधालाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोलेबाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले घण्टौँसम्म कुटपिट गरेको बताइएको छ। प्रहरीले अभियुक्त रामबहादुरलाई छानबिनका लागि पक्राउ गरेपछि कानुनी कारवाहीको प्रक्रियामा जान नदिई उनलाई छाडिएको जनाइएको छ।

मानवताविरुद्धको यस्तो जघन्य अपराधमा संलग्न जो कसैलाई उन्मुक्ति हुन नसक्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। हाल स्वास्थ्योपचाररत राधाको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने र थप उपचारका लागि उपयुक्त व्यवस्था गर्न सम्बन्धित निकाय अग्रसर भइसकेको जनाइएको छ।

“नेपाललगायत विश्वले अन्तर्राष्ट्रिय महिलादिवस मनाइरहेको दिन नै घटेको यस्तो गम्भीर घटनाले अन्धविश्वास र कुरीतिको जरा समाजको तल्लो तहमा फैलिएको प्रष्ट भएको छ। यस घटनाले आधुनिक मानवीय चेतना र सभ्यतालाई नै अपमान गरेको छ र देशकै बेइज्जत गरेको छ। यस्ता आपराधिक घटना भविष्यमा दोहोरिन नदिन जनतामा रहेको अशिक्षा, अन्धविश्वास र पछौटेपनजस्ता कुराहरुलाई दुरुपयोग गर्दै लाभान्वित हुन खोज्ने गतिविधिलाई कठोरताका साथ रोक्न जरुरी छ ” प्रधानमन्त्रीका प्रेस सहयोगी रामशरण बजगाईँले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

Share Now

Leave a comment.