खोटाङ, ७ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले खोटड.को साप्सु खोलामाथि बनेको पक्की पुल उद्घाटन गर्नुभएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडक खण्डको साप्सुखोलामा निर्माण गरिएको पक्की पुल उद्घाटन गर्न सोमबार खोटाङ आउनु भएको थियो ।
४० मिटर लम्बाई रहेको पक्की पुल निर्माण सम्पन्न पश्चात केही समय अगाडि नै सञ्चालनमा आइसकेको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो सडक मार्गमा पर्ने साप्सुखोलामा रहेको सो पक्की पुल संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको रु। दुई करोड बजेटमा निर्माण गरिएको हो ।
मूल्य अभिवृद्धि करसहित रु. ५ करोड ६० लाख रुपैँयामा निर्माण सम्पन्न भएको मोटरेबल पक्की पुल वि.सं. २०७६ असार ११ गते शिलान्यास गरिएको थियो ।
पुल सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुंगा र वराहपोखरी गाउँपालिकाका स्थानीय बासिन्दालाई आवतजावतका साथै दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसले देशको विकास र जनताको सुख सुविधालाई प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँल्े देश विकासकालागि अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गरिएको बताउनु भयो ।
केही व्यक्तिले राष्ट्रघाती भनेर गलत प्रचार गरे पनि एमसीसी नेपालको पक्षमा र विकासको पक्षमा रहेकाले संसदबाट पास गरिएको प्रधानमन्त्री देउवाको कथन छ ।
प्रधानमन्त्री देउवासँगै खोटाङ आउनु भएका खानेपानी मन्त्री उमाकान्त चौधरीले नेपाल जलस्रोतमा धनी रहेकोले यसको सदुपयोग गरेर देशमा आर्थिक बृद्धि गर्न नेपाली कांग्रेस सधै अग्रसर रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री देउवा र खानेपानी मन्त्री चौधरी पुल उद्घाटन गरेर सोमबार साँझ काठमाडौं फर्किनु भएको छ ।


















