Prakash Adhikari April 8, 2022

काठमाडौं, २५ चैत्र(बीबीसी) । फ्रेन्च आरोही नेतृत्वको टोलीले सगरमाथा शिखरसम्म पुग्नका लागि हाल चल्तीमा आएकोभन्दा सुरक्षित बाटो पत्ता लगाउने अभियानमा सफलता नजिक पुगेको दाबी गरेको छ।

आरोही मार्क बाटार्डले सगरमाथा आरोहणमा जोखिमपूर्ण मानिने खुम्बु आइसफल छलेर पहिलो शिविरसम्म पुग्ने वैकल्पिक बाटो प्रस्तुत गरेका हुन्।

बाटो पत्ता लगाउने अभियानमा आफूहरू सफलता नजिक पुगेको दाबी गरे तापनि त्यसबारे व्यावसायिक आरोहण दलहरूले मुख नखोलिसकेकाले हाललाई त्यो सम्भाव्यता हेर्ने क्रममै रहेको धेरैले ठानेका छन्।

बढ्दो विश्वव्यापी तापमानबीच खुम्बु हिमनदी दिनदिनै अस्थिर बनिरहेको बताइन्छ। सन् २०१४ मा त्यहाँ सबेरै हिमपहिरो जाँदा १६ शेर्पाहरूले ज्यान गुमाएका थिए।

कयौँ पश्चिमा कम्पनीहरूले आइसफलको त्यही जोखिम छल्न पछिल्ला वर्षमा नेपालबाट आरोहण अभियानलाई तिब्बततर्फ केन्द्रित गरेको बताउँदै आएका छन्।

“गत वर्ष हाम्रो समूहले नयाँ र सुरक्षित बाटो पत्ता लगाएको छ। यो पटक यही बाटो भएर हाम्रो टोली सगरमाथा आरोहणमा जाने योजनामा छ”, दुई पटक सगरमाथाको सफल आरोहण गरिसकेका ७० वर्षीय आरोही बाटार्डले भन्नुभएको छ।

उहाँका ४२ वर्षीय छोरासहित चार जनाको समूहले आगामी सिजनमा नयाँ बाटो हुँदै सगरमाथा आरोहणको तयारी गरिरहेको छ।

सगरमाथाको टुप्पोमा पहिलो पटक पाइला टेकेका एडमण्ड हिलारी र तेन्जिङ नोर्गेले ७० वर्षअघि सगरमाथा आरोहण गर्दा प्रयोग गरेको यो बाटो हालसम्म परिवर्तन नभएको अनुभवी शेर्पाहरू बताउँछन्।

संस्कृति तथा पर्यटन मन्त्रालयका अधिकारीहरूका अनुसार अहिलेसम्म खुम्बु आइसफल क्षेत्रमा मात्रै आरोही र शेर्पासहित ४० जना बढीको मृत्यु भइसकेको छ।

मार्क बाटार्ड
फ्रेन्च आरोही मार्क बाटार्डले जोखिमपूर्ण खुम्बु आइसफल छलेर पहिलो शिविरसम्म पुग्ने वैकल्पिक बाटो पहिचान गरेको दाबी गर्नुभएको छ

बाटार्डसँगै नयाँ बाटोको खोज्न खटिएका पासाङ नुरू शेर्पाले आफूहरूको टोलीले गत वर्ष ५,८०० मिटरसम्मको उचाइसम्म बाटो पहिचान गरेको बताउनुभयो।

“त्यसभन्दा माथिको क्षेत्रमा पनि हामीले हेलिकोप्टरबाट हेर्‍यौँ। माथिबाट हेर्दा बाटो राम्रो देखिएको छ”, १२ पटकसम्म सगरमाथा आरोहण गरेका शेर्पाले भन्नुभयो।

समुद्र सतहबाट ५३६४ मिटर उचाइमा रहेको सगरमाथा आधारशिविरबाट ६०६५ मिटर उचाइमा रहेको पहिलो शिविर पुग्न खोँच र हिमनदीको किनार हुँदै आरोहीहरू अघि बढ्ने गरेका छन्।

हिमपहिरो र सहजै नदेखिने खोँचका कारण यो क्षेत्र पार गर्नु आरोहीहरूका लागि जोखिमपूर्ण मानिन्छ।

दिउँसो हिमपहिरोको जोखिम हुने भएकाले आरोहीहरू बिहान उज्यालो नहुँदै यो ठाउँ पार गर्ने गर्छन्।

नयाँ बाटो सुरक्षित

“यो बाटोबाट उनीहरूको आरोहण सफल भयो भने आगामी दिनमा सगरमाथा आरोहण गर्न चाहनेलाई जोखिम कम हुन्छ। सगरमाथा आरोहणलाई प्रवर्द्धन गर्न बाटो खुल्छ”, संस्कृति तथा पर्यटन मन्त्रालयका पर्यटन पुनरुत्थान समिति संयोजक राजाराम गिरीले भन्नुभयो।

यो समूहले पहिचान गरेको बाटो कम जोखिमपूर्ण ठहर भए नयाँ बाटोबाट व्यावसायिक आरोहण खुला गरिने गिरीले बताउनुभयो।

तर २१ पटक सगरमाथाको सफल आरोहण गरेका पेम्बा शेर्पाले नयाँ भनिएको बाटो पनि सुरक्षित नभएको दाबी गर्नुभयो।

“त्यो क्षेत्रबाट जाने भनेको एकदमै जोखिमपूर्ण हो। त्यो बाटोमा ठूलो दुर्घटना हुनसक्छ। हामी अर्को ठाउँ नै नभएर आइसफलको बाटो हिँडेका हौँ “, उहाँले भन्नुभयो, “हामीले पनि धेरै पटक हेर्‍यौँ। त्यसमा जनशक्ति पनि धेरै लाग्छ। बरु खुम्बु आइसफलको बाटो नै पहिलेभन्दा धेरै सुरक्षित भइसकेको छ।”

सगरमाथा

सगरमाथा

पुनः सगरमाथा आरोहणमा जाने तयारी गरिरहेका शेर्पाले खुम्बु क्षेत्रमा यसअघि १२ वटासम्म भर्‍याङ प्रयोग हुने गरेकोमा हिमनदी क्षेत्रमा आएको परिवर्तनका कारण अहिले २ ३ वटा भर्‍याङको सहायतामा मात्रै पनि आइसफल क्षेत्र पार गर्न सकिने दाबी गर्नुभयो।

तर बाटार्ड र उहाँसँगै सहकार्य गरिरहेका नेपाली गाइड शेर्पाले आफूहरूले पहिचान गरेको क्षेत्र बढी सुरक्षित रहेको दाबी गर्नुभएको छ।

हिमाल आरोहणका लागि अनुमतिपत्र जारी गर्ने पर्यटन विभागका अनुसार बुधवार सम्म ८८४८.८६ मिटर उचाइको विश्वकै सर्वोच्च शिखर आरोहणका लागि १ सय ७६ जनाले अनुमति लिएका छन्।

सन् २०१९ को वसन्त सिजनमा सबैभन्दा धेरै १ हजार २४ जनाले नेपाल तर्फबाट सगरमाथा आरोहणको अनुमति लिएका थिए।

जसमध्ये ६ सय ४४ जनाले सफल आरोहण गरेको पर्यटन विभागको तथ्याङ्क छ।

 

Share Now

Leave a comment.