काठमाडौं, २ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। तेस्रो चरणको विस्तार संगै ओली सरकारको आकार २२ सदस्यीय भएको छ ।
ओलीले आज नेकपा एमाले र माओवादी केन्द्रका १५ जना नेतालाई सरकारमा सहभागी गराएका छन्।
संघीय समाजवादी फोरमका २ जना मन्त्रीले पनि आज शपथ लिने तयारी भएपनि पार्टीमा थप छलफलको माग भएकोले उनीहरुको नियुक्ति अन्तिम समयमा रोकिएको थियो ।
नवनियुक्त मन्त्रीहरुलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित बिशेष कार्यक्रममा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश दीपकप्रसाद जोशी लगायतको उपस्थिति रहेको थियो।
प्रधानमन्त्रीले एमालेका प्रदिप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम तथा रोजगार, रवीन्द्र अधिकारीलाई पर्यटन मन्त्री, रघुवीर महासेठलाई भौतिक पुर्वाधार ,शेरबहादुर तामाङलाई कानुन, जगत विश्वकर्मा युवा तथा खेलकुद र गोकुल बास्कोटालाई सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।
यसअघि वातावरण मन्त्रालयको जिम्मेवारी पाएका लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
एमालेबाट पद्मा अर्याल स्वास्थ्य राज्यमन्त्री बनेकी छन्। त्यस्तै धनबहादुर बुढा संस्कृति राज्यमन्त्री बनेका छन्।
माओवादीबाट यो विस्तारमा पाँच मन्त्री र एक राज्यमन्त्रीसहित छ नेता सरकारमा सहभागी भएका छन्।
माओवादी नेता वर्षमान पुनलाई ऊर्जा तथा जलस्रोत, गिरिराजमणि पोखरेललाई शिक्षामन्त्री, शक्ति बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
माओवादीका चक्रपाणि खनालले भूमिसुधार र बिना मगरलाई खानेपानी मन्त्री बनाइएको छ। त्यस्तै रामकुमारी चौधरी कृषी तथा भूमिसुधार राज्यमन्त्री बनेकी छन्।
यस्तो छ ओली मन्त्रिमण्डल :-
सम्माननीय प्रधानमन्त्री
१ श्री के.पी. शर्मा ओली- सहरी विकास र स्वास्थ्य तथा जनसंख्या
माननीय मन्त्री
२ श्री ईश्वर पोखरेल- रक्षा
३ श्री रामबहादुर थाप- गृह
४ श्री प्रदीपकुमार ज्ञवाली- परराष्ट्र
५ श्री बर्षमान पुन -ऊर्जा, जलस्रोत तथा सिँचाई
६ श्री गिरिराजमणि पोखरेल- शिक्षा, विज्ञान तथा प्रविधि
७ श्री मातृकाप्रसाद यादव -उद्योग, वाणिज्य तथा आपूर्ति
८ श्री रघुबीर महासेठ -भौतिक पूर्वाधार तथा यातायात
९ श्री गोकर्ण विष्ट -श्रम , रोजगार, तथा सामाजिक सुरक्षा
१० श्री शक्तिबहादुर वस्नेत -वन तथा वातावरण
११ श्री लालबाबु पण्डित- सङ्घीय मामिला तथा सामान्य प्रशासन
१२ श्री थममाया थापा -महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१३ डा. युवराज खतिवडा- अर्थ
१४ श्री जगतबहादुर सुनार (विश्वकर्मा) -युवा तथा खेलकुद
१५ श्री रविन्द्रप्रसाद अधिकारी -संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१६ श्री शेरबहादुर तामाङ -कानुन, न्याय, तथा संसदीय मामिला
१७ श्री चक्रपाणी खनाल -कृषि, भूमि व्यवस्था तथा सहकारी
१८ श्री बीना मगर -खानेपानी
माननीय राज्यमन्त्री
१९ श्री पद्माकुमारी अर्याल -स्वास्थ्य तथा जनसंख्या
२० श्री गोकुलप्रसाद वाँस्कोटा -सञ्चार तथा सूचना प्रविधि
२१ श्री धनबहादुर बुढा -संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२२ श्री रामकुमारी चौधरी -कृषि, भूमि व्यवस्था तथा सहकारी
गठन मिति: २०७४/११/०३ , ११/१४, १२/२