Prakash Adhikari June 11, 2022

 

काठमाडौं, २८ जेठ । अमेरिकामा भइरहेको नेपाल, अमेरिका र ओमान सम्मिलित क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

खेल टेक्सास राज्यको ह्युस्टनको पर्लल्याण्डस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

श्रृखलामा दुवैले एक एक खेल खेलिसकेका छन् । नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो भने अमेरिकाले पहिलो खेलमा ओमानमाथि फराकिलो जित निकालेको थियो ।

अमेरिकाले पहिलो खेलमा ओमानविरुद्ध ३ सय भन्दा बढी रन बनाएर १ सय १४ रनको जित निकालेको थियो । नेपालले ओमानले दिएको २ सय १२ रनको लक्ष्यसमेत पूरा गर्न सकेन ।

अमेरिकाविरुद्ध खेल्दा नेपालले ओपनिङदेखि नै ब्याटिङमा सुधार गर्नुपर्ने देखिएको छ ।

नियमित ओपनिङ जोडी आसिफ शेख र कुशल भुर्तेल अमेरिकामा अभ्यासका क्रममा घाइते भएपछि सुनिल धमला र ब्याटअफका रुपमा अमेरिका पुगेका सुबास खकुरेलले ओमानविरुद्ध ओपनिङ गरेका थिए । तर जमेन ।

राति ९ः१५ बजे सुरु हुने खेलमा नेपाल अमेरिकाविरुद्ध जित निकाल्ने लक्ष्यमा छ ।

अमेरिका र नेपालबीच अहिलेसम्म चारवटा एकदीवसीय भिडन्त भएको छ । जसमा नेपालले तीन र अमेरिकाले एक खेल जितेको छ । लिग–२ मा १३ खेल सकेको नेपाल १२ अंक सहित तालिकाको छैटौं स्थानमा छ । २१ खेलबाट २० अंक बनाएको अमेरिका चौथो स्थानमा छ ।

लिगमा नेपालले तेस्रो खेल जेठ ३१ गते ओमानविरुद्ध र अन्तिम खेल असार १ गते अमेरिकाविरुद्ध खेल्नेछ । ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी आईसीसी विश्वकप लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछ ।

सन्दीप लामिछानेको कप्तानी रहने नेपली टिममा, उपकप्तान रोहित पौडेल, विनोद भण्डारी (विकेटकिपर), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सुनिल धमला, सुवास खकुरेल, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल रहनुभएको छ ।

यसबाट ११ खेलाडी छानिने छन् ।

Share Now

Leave a comment.