काठमाडौं, ७ आषाढ। उपत्यकाबाहिर बेस रहने गरी स्वीकृति लिएका हवाई जहाज र हेलिकोप्टरलाई काठमाडौंबाट उडान गर्न रोकेपछि वायुसेवा संचालकले बुधबारदेखि आन्तरिक उडान ठप्प पार्ने निर्णय गरेका छन्।
संघले मंगलबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी यो निर्णयको जानकारी गराएको हो । यस पहिले बसेको संघको आकास्मिक बैठकले पूर्व तयारीविना नै नेपाल नागरिक उड्डयन प्राधिकरणले धमाधम उडान रोक्न थालेपछि यो निर्णय गरेको थियो।
संघले बुधबारदेखि आन्तरिकतर्फका सबै उडान रोक्ने निर्णय गरेको छ।
“सामान्य समय नदिई प्राधिकरणले उडान रोक्न थालेको छ। यसले उद्धार उडान समेत रोकिएपछि हामी आकस्मिक बैठक बसेर बुधबारदेखि सबै उडान रोक्ने निष्कर्षमा पुगेका हौं”, वायुसेवा सञ्चालकहरुले पत्रकार सम्मेलनमा भनेका छन्, “अत्यावश्यक सेवा बन्द गर्ने हाम्रो मनसाय होइन। तर सरकारी निर्णयले बाध्यात्मक अवस्था सिर्जना भयो।”
कुन कुन रोकिए ?
प्राधिकरणले काठमाडौं बेस नरहेका हेलिकोप्टरको उडानमा रोक लगाएको छ। हेलि एभरेष्ट, मनाङ, माउन्टेन, कैलाश, अल्टिच्युड, मुस्ताङ लगायत काठमाडौं बेस पाएका ६ वटा कम्पनी बाहेकलाई काठमाडौंबाट उडान गर्न रोक लगाइएको छ।
मंगलबार रामेछापमा बिरामी उद्धार गर्न जान लागेको सिम्रिकको हेलिकोप्टरलाई उडान गर्न रोक लगाइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारीका अनुसार प्रभु हेलिकोप्टरको पनि उडान रोकिएको छ।
प्रभु हेलिकोप्टरले स्थापनाकालदेखि नै पोखरा बेस रहेर आफ्नो सेवा दिँदै आएको छ भने सिम्रिक एयरको पाँचैवटा जहाजले नेपालगञ्ज बेस रहेर उडान गर्ने इजाजत छ। एयर डाइनेष्टीले दुईवटा काठमाडौं, एउटा लुक्ला र एउटा पोखरा बेस रही उडान गर्ने जनाएको छ।
उनका अनुसार मुलुकमा ११ वटा हेलिकोप्टर कम्पनी छ भने ती कम्पनीका ३७ वटा हेलिकोप्टर छ।
जहाज पनि प्रभावित
प्राधिकरणको निर्णयसँगै ६७ प्रतिशत जहाज काठमाडौं बाहिरै राखेर उडान गर्नुपर्ने भएको छ। प्राधिकरणले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको ट्राफिक भीड नियन्त्रण गर्ने उद्देश्यले यस्तो प्रावधान लागू गरेको जनाएको छ ।
यो निर्णय असार १३ गतेदेखि पूर्ण रुपमा कार्यान्वयनमा आउने प्राधिकरणको दावी छ।
प्राधिकरणले भने पहिल्यै भएको यो निर्णय पालनामा कडाई नगरिएको बताउदै आएको छ। अहिले आन्तरिक उडानमा फिक्स विङ अन्तर्गत नौ वटा वायुसेवा कम्पनीको ५२ वटा जहाज छन्।
टीआइएमा आन्तरिकतर्फ उडान अवतरण र पार्किड.कोलागि जहाज क्षमता १७ वटा हो।
अब बाँकी ३५ वटा जहाजले बाहिर जिल्लाका विमानस्थललाई बेस बनाएर नियमित उडान गर्नु पर्नेछ ।
उपत्यका बाहिर बेस राखेर नियमित उडान गर्दा चहलपहल वृद्धि हुनका साथै काठमाडौं विमानस्थलमा भिडभाड कम हुने प्राधिकरणको दावी छ ।



















