Prakash Adhikari June 21, 2022

 दिलीपकुमार शर्मा / दिल्लीमा जोया मती,

गुवाहाटी(आसाम), ७ आषाढ(बीबीसी न्यूज) । “जताततै पानी थियो, तर पिउनलाई एक थोपा पनि थिएन।”

शनिवार आफ्नो घर बाहिरको दृश्य वर्णन गर्दै रोञ्जु चौधरी भन्नुहुन्छ।

उहाँ हाल बाढीले ग्रस्त भएको पूर्वोत्तर भारतीय राज्य आसामको दुर्गम गाउँ उडियानाकी बासिन्दा हुनुहुन्छ ।

उहाँले स्मरण गरे अनुसार त्यहाँ लगातार पानी परिरहेको थियो।

तीव्र गतिको वर्षाका कारण केही घण्टामै सडक पूर्ण रूपमा डुबे।

घरमा पानी पसेपछि परिवारले अन्धकारमा आफूलाई जोगाउन खोजेको उहाँ बताउनुहुन्छ ।

दुई दिन बितिसक्दा पनि उक्त परिवार अलपत्र छ।

 

टापुजस्तो बने घर

उनीहरूको घर अहिले पानीको समुद्रमा एकान्तको टापुजस्तो देखिन्छ।

“हामी चारैतिरबाट बाढीको पानीले घेरिएका छौँ। पिउने पानी पाउन मुस्किल छ। खानेकुराको पनि अभाव छ। अहिले पानीको सतह झन् बढ्दै गएको सुन्छु”,चौधरी भन्नुहुन्छ।

अब के हुने हो ?

अस्वाभाविक वर्षा र बाढीले आसममा विनाशका रेखाहरू छाडेको छ।

बाढी
गाउँहरू डुबानमा परेको छन्, बाली नष्ट भएको छ र घरहरू भत्किएका छन्।

अधिकारीहरूका अनुसार उक्त राज्यका ३५ जिल्लामध्ये ३३ वटा बाढीले प्रभावित भएको र कम्तीमा ३४ जनाको ज्यान गएको बताएका छन्।

उनीहरूका अनुसार त्यहाँ ४२ लाखभन्दा बढी विस्थापित भएका छन्।

भारी वर्षाको असर छिमेकी राज्य मेघालयमा पनि परेको छ।

त्यहाँ गत साता १८ जनाको मृत्यु भएको थियो।

उद्धार शिविर

आसाममा सरकारले विस्थापितका लागि १,१४७ वटा राहत शिविर खोलेको छ।

तर अधिकारीहरूले तीव्र वर्षा र बाढीका कारण उद्धार तथा राहतको काम जटिल बनेको बताएका छन्।

उद्धार गरेर राखिनेहरूका लागि बनाइएका शिविरको अवस्था पनि दयनीय छ।

उडियानाकी हुस्ना बेगमले भन्नुभयो, ूशिविरमा पिउने पानी छैन। मेरो छोरालाई ज्वरो आएको छ, तर म डाक्टरकहाँ लान असमर्थ छु।ू

गत बुधवार उहाँको घरमा पानी पसेपछि २८ वर्षीया हुस्ना सहायताको खोजीमा बाढीको पानीमा पौडिएर बाहिर निस्किनुभएको हो ।

उहाँ अहिले आफ्ना दुई छोराछोरीसहित पालमुनि बसिरहेको छ ।

“मैले मेरो जीवनमा यति ठूलो बाढी कहिल्यै देखेको थिइनँ”, बेगमले भन्नुभया।

बाढीले नियमित रूपमा ब्रह्मपुत्र नदीको उर्वर किनारमा बसोबास गर्ने लाखौँको जीवन र जीविकोपार्जनलाई विनाश गरिदिन्छ।

बाढी

उक्त नदी क्षेत्रलाई प्रायः आसमको जीवन रेखा भन्ने गरिन्छ।

तर विज्ञहरू जलवायु परिवर्तन, अनियन्त्रित निर्माणकार्य र तीव्र औद्योगिकीकरण जस्ता कारणले चरम मौसमी घटना हुने क्रम बढाएको बताउँछन्।

यो वर्ष आसाममा यस्तो भीषण बाढी आएको यो दोस्रो पटक हो।

गत मे महिनामा आएको बाढीले त्यहाँ कम्तीमा ३९ जनाको ज्यान लिएको थियो।

उक्त राज्यमा यो महिना औसतभन्दा १०९ प्रतिशत बढी वर्षा भएको मौसम विभागले जनाएको छ।

त्यहाँ ब्रह्मपुत्र नदी धेरै ठाउँमा खतराको तहभन्दा माथि बगिरहेको छ।

स्थानीयवासी र अधिकारीहरूले बीबीसीले पछिल्लो बाढीलाई एकदमै खतरनाकमध्ये एक भएको बताएका छन्।

उनीहरूका भनाइमा बाढीले उक्त राज्यको सामाजिक र आर्थिक बनावटलाई नै परिवर्तन गरिदिएको छ।

रङ्गिया सहरका सब-डिभिजनल अधिकृत जाविर राहुल सुरेश भन्नुहुन्छ, “यस पटक अवस्था विशेष रूपमा डरलाग्दो छ। हामीले उद्धार कार्यमा मद्दत गर्न न्याशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) बाहेक सेनालाई पनि तैनाथ गरेका छौँ।”

“यसबेला हाम्रो प्राथमिकता जीवन बचाउनु हो।”

पूरै बस्तीहरू पानीले डुबेको छन् र ठूलो नदीजस्ता देखिन्छन्।

आसामको मुख्य आर्थिक केन्द्र गुवाहाटीका नजिकका क्षेत्रहरू पनि भग्नावशेषमा परिणत भएका छन्।

धान फल्ने रमणीय खेतहरू माटो र भग्नावशेषहरूबाट निस्किएका सामानहरूले पुरिएका छन्।

उडियानामा कुनै विद्यालय, अस्पताल, मन्दिर वा मस्जिदहरू देखिदैँनन् त्यहाँ केवल पानी मात्र देखिन्छ।

 

बाढी
मानिसहरू केराको पात र बाँसको डण्डीबाट बनेको डुङ्गाबाट यात्रा गरिरहेका छन्।

कतिपय बाढीको पानीमा निराश भएर पौडी खेल्छन्।

उद्धारकर्ताहरू देख्दा उनीहरूको मुहार उज्ज्यालो हुन्छ।

बाढी

घरमै फसेका पीडित

विशेषगरी कामरूप जिल्लाको क्षति विनाशकारी रहेको छ र त्यहाँ सयौँ मानिसहरू अझै पनि घरमा फसेका छन्।

चौसठ्ठी वर्षीय सिराज अलीका अनुसार पानीले आफ्नो गाउँका सबै कुरा ध्वस्त पारेको थियो र उहाँलाई आफ्नो ज्यानको डर छ।

तर पनि अली आफ्नो सामान र ‘जीवन रक्षा’का लागि आंशिक रूपमा पानीमा डुबेको घरमा बस्न बाध्य हुनुहुन्छ।

अलीले आफ्ना छोराछोरीलाई सडक छेउको आश्रय शिविरमा पठाउनुभएको छ।

आफू चाहिँ मद्दतको पर्खाइमा हुनुहुन्छ तर अहिलेसम्म कोही आएका छैनन् ।

राजुले गहभरि आँसु पार्दै भन्नुभयो, “पानीले घेरिएको छु तर पिउनलाई पानी छैन, खानेकुरा छैन, म तीन दिनदेखि भोकै छु, के गर्ने र कहाँ जाने?”

अधिकारीहरूले पनि आफूहरूले हरेक पीडितलाई पर्याप्त मात्रामा पिउने पानी र खानेकुरा उपलब्ध गराउन नसकेको स्वीकार्छन्।

“अहिले पनि पूर्ण रूपमा सम्पर्क विच्छेद भएका कतिपय इलाकामा पुग्न हामीले कठिनाइको सामना गरिरहेका छौँ। त्यहाँसम्म पुग्नका लागि हाम्रा सडकहरू डुबेका छन्:, सुरेश भन्नुहुन्छ।

 

Share Now

Leave a comment.