Prakash Adhikari July 25, 2022

नापिताओ(म्यानमार), ९ श्रावण(बीबीसीं) । म्यान्मारको सेनाले चारजना प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड दिएको छ। त्यहाँ दशकौँपछि पहिलो पटक मृत्युदण्ड दिइएको ठानिएको छ।

भूतपूर्व सांसद फ्यो जेया थअ, लेखक को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जअलाई आतङ्ककारी गतिविधि गरेको आरोप लगाइएको थियो।

जुन महिनामा सेनाले मृत्युदण्डको घोषणा गर्दा अन्तर्राष्ट्रिय समुदायले त्यसको निन्दा गरेको थियो।

सन् २०२१ मा सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएको थियो।

आङ सान सू चीले नेतृत्व गरेको न्याश्नल लीग फर डेमोक्रेसी एनएलडीको नेतृत्वमा रहेको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले गत वर्ष फेब्रुअरीमा सत्ता लिएको थियो। सैन्य कूको विरोधमा उठेको स्वरलाई पनि सेनाले दमन गरेको थियो।

कूको विरोधमा गठन गरिएको छाया सरकारले मृत्युदण्डको निन्दा गरेको छ।

प्रजातन्त्रवादी व्यक्तित्व, सशस्त्र विद्रोही समूहका प्रतिनिधि र एनएलडीका सदस्यहरू सम्मिलित छाया सरकारले अन्तर्राष्ट्रिय समुदायलाई ‘अत्याचार र हत्याका लागि हत्यारा सैन्य जुन्टालाई सजाय दिन’ आग्रह गरेको छ।

राज्यनियन्त्रित समाचारसंस्था ग्लोबल न्यूज लाइट अफ म्यान्मारले ती चार जनालाई निर्मम र अमानवीय आतङ्ककारी गतिविधिलाई निर्देशित र व्यवस्थापन गरेर षड्यन्त्र गरेका कारणू मृत्युदण्ड दिइएको बताएको छ।

समाचारमा उनीहरूलाई प्रतिआतङ्कवाद कानुनअन्तर्गत सजाय दिइएको बताइए पनि कहाँ र कसरी मृत्युदण्ड दिइयो भन्ने स्पष्ट पारेको छैन।

संयुक्त राष्ट्रसङ्घका अनुसार म्यान्मारमा यसअघि सन् १९८८ मा झुन्डाएर मृत्युदण्ड दिइएको थियो।

बीबीसी बर्माका अनुसार ती चार जनामा परिवारका सदस्यहरू याङ्गुनको इन्सेन जेलमा अधिकारीहरूसँग भेट्न कुरिरहेका छन्।

समाचारसंस्था रोएटर्सका अनुसार फ्योकी पत्नी थाजीन युन्ट आङले आफूलाई मृत्युदण्ड कार्यान्वयन गरिएको विषयमा जानकारी नदिइएको बताउनुभएको छ।

ती चार जनालाई गत ज्यानुअरीमा बन्द इजलासभित्र मृत्युदण्डको सजाय सुनाइएको थियो। मानवाधिकारवादी समूहहरूले सो सुनुवाइलाई अन्यायपूर्ण र अपारदर्शी भनेर आलोचना गरेका थिए।

फ्यो र को जिम्मी नामले चिनिने क्यो मीन यु दुई जना जुन महिनामा पुनरावेदनमा हारेका थिए।

आङ सान सू चीका निकट मानिएका ४१ वर्षीय फ्यो एनएलडीका सांसद हुनुहुन्थ्यो ।

त्रिपन्न वर्षीय जिम्मी सन् १९८८ मा सैन्य शासनको विरोध गर्ने विद्यार्थी समूहका सदस्य हुनुहुन्थ्यो।

उहाँ सन् २०१२ मा निस्किनुअघि धेरै पटक प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका कारण जेल पर्नुभएको थियो।

उहाँलाई गत वर्ष अक्टोबरमा याङ्गुनस्थित घरमा हतियार लुकाएको र छाया सरकारको सल्लाहकार भएको आरोपमा गिरफ्तार गरिएको थियो।

सू चीसँग निकट मानिएका ४१ वर्षीय फ्यो एनएलडीका सांसद हुनुहुन्थ्यो। उहाँ हिपहप कलाकार पनि हुनुहुन्थ्यो।

फ्यो सैन्य शासकविरुद्ध कडा अभिव्यक्तिका कारण सेनाको निसानामा पर्नुभएको थियो। उहाँलाई गत नोभेम्बरमा गिरफ्तार गरिएको थियो।

अन्य दुई जनाका बारेमा कमै जानकारी उपलब्ध छ। उनीहरूलाई सेनाको जासुस भएको आरोप लागेकी महिलाको हत्या गरेको आरोप लगाइएको थियो।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले चार जनालाई मृत्युदण्ड दिने निर्णय ‘व्यक्तिको जीवन, स्वतन्त्रता र सुरक्षाको अधिकारको निर्मम हनन भएको’ बताउनुभएको छ।

गत वर्षको कूपछि सेनाले प्रजातन्त्रवादी अधिकारकर्मीहरूमाथि दमन चर्को पारेको छ।

कू यता सू ची नजरबन्दमा हुनुहुन्छ भने उहाँलाई भ्रष्टाचार लगायतका आरोपहरू लगाइएको छ।

ती सबै आरोपमा दोषी ठहरिए उहाँलाई  १ सय ५० वर्षसम्म जेल सजाय हुन सक्छ।

कू यता म्यान्मार सेनाले १४ हजार ८ सय ४७ जनालाई गिरफ्तार गरेको र २ हजार १ सय १४ जनालाई मारेको तथ्याङ्क एएपीपी नामक संस्थाको छ।

Share Now

Leave a comment.