काठमाडौ, ३ कार्तिक । चुनावी सहकार्य हुँदै पार्टी एकीकरणतर्फ अघि बढ्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि सिट बाँडफाँट गरी उम्मेदवार छनोट थालेका छन्।
सो वाम गठबन्धनले बिहीबार राती पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभाका सिटहरुमा तालमेल गर्ने सहमति गरेको थियो।
माओवादी केन्द्रले आफ्नो दलको तर्फबाट पहिलो चरणको चुनाव लड्ने उम्मेदवारहरु छानेको जनाएको छ भने उम्मेदवार छान्न नेकपा एमालेको स्थायी कमिटिको बैठक चलिरहेको छ।
सरकारको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसले पनि अलग्गै गठबन्धन निर्माणको प्रयास गरिरहेको छ र शुक्रबार रातभरीमा पहिलो चरणमा चुनाव हुने क्षेत्रहरुमा सिट बाँडफाँड र उम्मेदवारको टुँगो लगाउने जनाएको छ।
गठबन्धन
एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण संयोजन समिति तथा कार्यदलले आगामी मंसिर १० गते पहिलो चरणको चुनाव हुने प्रतिनिधि सभाका ३७ र प्रदेश सभाका ७४ सिटको बाँडफाँडमा सहमति कायम गरेको नेताहरुले बताएका हुन्।
त्यस अन्तर्गत एमालेले प्रतिनिधिसभाका २१ र माओवादी केन्द्रले १६ वटा निर्वाचन क्षेत्र बाँडफाँट गरेका छन्।
प्रदेश सभाको हकमा ७३ वटा सिटमा सहमति भएपनि एउटाको बारेमा टुङ्गो लाग्न बाँकी रहेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘गए राती एमालेले प्रदेश सभाका ४१ र माओवादी केन्द्रले ३३ सिट राख्ने सहमति भएको थियो तर बिहान नेताहरुले ४० र ३४ सिटमा सहमति गर्नुभयो, अहिले एमालेका नेताहरुले हिजोकै सहमति अनुसार जाऔँ भनेर भनिरहनुभएको छ।’
दुबै दलहरुले सिट बाँडफाँटमा भएका सहमति अनुमोदन गर्दै आफ्नातर्फबाट पार्टीका उम्मेदवार मनोनयनको प्रक्रिया भने अघि बढाइसकेको जनाएका छन्।
उम्मेदवार
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले भने, ‘३२ जिल्लाका हाम्रो भागमा परेका प्रतिनिधिसभाका २१ वटा निर्वाचन क्षेत्र र प्रदेशसभाका ४१ वटा क्षेत्रका उम्मेदवारहरुको छनौट गर्न हामी बैठकमा छौँ, त्यसमध्ये कतिपय जिल्लामा हामीले टुङ्ग्याउँदै पनि गएका छौँ र केही ठाउँमा छलफल जारी छ।’
निर्वाचनपछि पार्टी एकीकरणसम्म गर्ने घोषणा गरेका एमाले र माओवादी केन्द्रले आ(आफ्नै चिन्ह लिएर चुनावमा सहभागी भएपनि ६०र४० को अनुपातमा तालमेल गर्ने बताएका थिए।
तर अहिले पहिलो चरणको हकमा प्रदेश सभामा माओवादी केन्द्रलाई लगभग ४५ प्रतिशत र प्रतिनिधि सभामा ४३ प्रतिशत सिट दिन एमाले सहमत भएको देखिन्छ।
हाम्रो भागमा परेका प्रतिनिधिसभाका २१ वटा निर्वाचन क्षेत्र र प्रदेशसभाका ४१ वटा क्षेत्रका उम्मेदवारहरुको छनौट गर्न हामी बैठकमा छौँ, कतिपय जिल्लामा हामीले टुङ्ग्याउँदै पनि गएका छौँ र केही ठाउँमा छलफल जारी छ
सुरेन्द्र पाण्डे, नेता, नेकपा एमाले
दुबै दलका नेताहरुले ‘जित सुनिश्चित गर्ने हिसाबमा अहिलेको बाँडफाट गरिएको’ र आगामी मंसिर २१ गते हुने दोस्रो चरणको चुनावका क्षेत्रहरु बाँडफाँट गर्ने क्रममा ६०र४० कै अनुपात कायम हुनसक्ने जनाएका छन्।
तालेमेलको सहमति भए लगत्तै पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारहरुको नामावली आफ्नो पार्टीले टुङ्गो लगाएको माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए।
चुनाव
पहिलो चरणको चुनावका लागि आइतवार मनोनयन दर्ता गराउनुपर्ने व्यवस्था छ।
उनले भने, ‘माओवादी केन्द्रले आफ्ना उम्मेदवारहरु टुंगो गरिसकेको छ र पार्टीले सम्बन्धित उम्मेदवारहरुलाई मनोयनपत्र पनि दिइसकेको छ। हामीले आफ्नो भागमा परेको प्रतिनिधिसभाका १६ र प्रदेश सभाका ३१ सिटको टिकट वितरणको काम सम्पन्न गरिसकेका छौँ।’
पहिलो चरणमा चुनाव हुने जिल्लामा आगामी आइतबार उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ।
प्रयास
उक्त मिति नजिकिँदै गर्दा नेपाली काँग्रेसले पनि आफ्नो नेतृत्वमा गैर वाम दलहरु, खासगरी तराई केन्द्रीत दलहरुसँग चुनावी तालमेलको प्रयास गरिरहेको छ।
पहिलो चरणमा चुनाव हुने ३२ वटा जिल्लाको उम्मेदवार चयन रातिसम्म सकिएला। तालमेलका लागि पनि केही ठाउँमा केही सिटहरु हामीले छोडिदिइरहेका छौँ
बालकृष्ण खाँड, नेता, नेपाली काँग्रेस
काँग्रेसको संसदीय बोर्डका सदस्य समेत रहेका नेता बालकृष्ण खाँडले भने, ‘पहिलो चरणमा चुनाव हुने ३२ वटा जिल्लाको उम्मेदवार चयन रातिसम्म सकिएला। तालमेलका लागि पनि केही ठाउँमा केही सिटहरु हामीले छोडिदिइरहेका छौँ।’
उनले थपे, ‘सबै दलहरुसँग छलफल भइरहेको छ र उहाँहरुले पनि आफूलाई सहज हुने प्रतिनिधिसभा र प्रदेशसभाको टिपोट हाम्रो पार्टीका कार्यदलका साथीहरुलाई दिनुभएको छ। हामीले स्वीकार गर्न सक्ने संख्याको जानकारी पनि गराएका छौँ’
दोस्रो चरणमा मंसिर २१ गते हुने चुनावका लागि दलहरुले कार्तिक १६ गते मनोनयन दर्ता गराउनुपर्ने निर्वाचन कार्यातालिकाले व्यवस्था गरेको छ।