बुटवल(रुपन्देही), १५ श्रावण । के हाम्रै पालामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेलमा यात्रा गर्न पाइएला ?
झट्ट सुन्दा सामान्य लाग्ने यो प्रश्नको उत्तर सरोकारवाला निकायहरूका लागि त्यति सहज भने छैन।
सरकारले काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकी जोड्ने गरी ९ सय २५ किलोमिटर लामो मेची -महाकाली विद्युतीय रेलमार्ग परिकल्पना गरेर केही काम अगाडि बढाएको जनाएको छ।
तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारी भन्नुहुन्छ, “रेल सेवा तुलनात्मक रूपमा अन्य यातायातभन्दा धेरै भरपर्दो र सुविधाजनक हुने भए पनि लगानीको हिसाबले नेपाल जस्तो देशमा हाम्रो पुस्ताले रेल चढेर मेची महाकाली गर्ला भनेर विश्वास गर्ने आधार कतै पनि देखिँदैन।”
जनशक्ति र बजेट कम, तैपनि सपना
सरकारले नेपालमा रेल सेवा सञ्चालन गर्ने उद्देश्यले करिब १० वर्ष अगाडि छुट्टै रेल विभाग गठन गरी सो विभागमार्फत् नै काम अगाडि बढाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव शिवप्रसाद नेपाल बताउँनुहुन्छ।
पछिल्लो प्रगति
नेपालका अनुसार अहिले सोही विभागमार्फत् पूर्व(पश्चिम रेलमार्गदेखि भारतका विभिन्न सहरबाट नेपालका सीमावर्ती सहरहरू जोड्ने गरी केही ठाउँमा काम पनि सुरु भएको छ ।
रेल विभागले दुई वर्ष अगाडि तयार पारेको लागत अनुमान अनुसार नेपालमा विद्युतीय रेल मार्ग निर्माणका लागि प्रति किलोमिटर करिब १ अर्ब रुपैयाँ लाग्ने बताइएको छ।

हालै सञ्चालन आएको नेपाल(भारत रेलमार्गमा पर्ने कुर्थास्थित रेलवे स्टेसन
यस हिसाबले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल मार्ग निर्माण गर्न करिब ९ सय ५५ अर्ब रुपैयाँ लाग्ने विभागले प्रक्षेपण गरेको छ ।
“एकै पटक बजेटमा व्यवस्था गरेर काम अगाडि बढाउने कुरा सम्भव देखिन्न तर खण्ड(खण्ड छुट्टाएर काम गर्ने हो भने रेल मार्ग निर्माण नै हुन सक्दैन भन्ने हुन्न”, रेल विभागका एक जना इन्जिनियर सुमोद पोखरेल भन्नुहुन्छ, तर त्यो काम कति वर्षमा सम्पन्न हुन्छ भनेर त कसरी भन्न सकिन्छ र ?”
नेपाल-भारत अन्तरदेशीय रेलमार्ग निर्माणमा भारतको आर्थिक र प्राविधिक सहायता पाएको नेपालले आफ्नो पूर्वी सीमादेखि पश्चिमसम्म जोड्ने रेलमार्ग भने हालसम्म आफ्नै खर्चमा अघि बढाइरहेको अधिकारीहरू बताउँछन्।
तयार छ डीपीआर

रेल विभागका अनुसार अहिलेसम्म पूर्व(पश्चिम विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भने तयार भइसकेको छ ।
यस अघि तयार गरिएको डीपीआरमा चितवन राष्ट्रिय निकुञ्ज र बुटवलमा केही समस्या देखिएपछि ती स्थानको पुनः डीपीआर गरिएको इन्जिनियर पोखरेलले बताउनुभयो ।
“पहिलेको डीपीआरमा चितवनको राष्ट्रिय निकुञ्ज भित्रबाट नै रेल लैजाने कुरा थियो तर अहिले निकुञ्जको बाहिरी भागबाट लैजाने गरी डीपीआर तयार गरिएको छ ।”,पोखरेलले भन्नुभयो , ” बुटवलमा धेरै घरहरू भत्काउन पर्ने अवस्था देखिएकोले अहिले कम क्षति हुने गरी पुल माथिबाट रेल चलाउने गरी डीपीआर गरिएको छ ।”
रेल विभागले मेची महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत अहिले सिन्धुलीको बर्दिबासदेखि बाराको निजगढसम्म ७० किलोमिटर खण्डमा काम गरिरहेको बताएको छ।
सो खण्डमा अहिले माटो पुर्ने र नदीमा पुल बनाउने काम भइरहेको बताइन्छ। विभागका अनुसार यी कामबाहेक बिजुली, रेल लीक र स्टेसनको काम भने सुरु गरिएको छैन ।
नेपालमा रेल

नेपालमा पहिलो पटक सन १९२७ मा भारतको रक्सौलबाट नेपालको अमलेखगन्जसम्म रेल सञ्चालन भएको थियो। रेल विभागका अनुसार ४८ किलोमिटर दूरीको सो रेल सेवा निरन्तर ३३ वर्ष चलेर बन्द भएको थियो ।
त्यस्तै सन १९३७ मा भारतको जयनगरबाट नेपालको जनकपुरसम्म चलेको रेल केही वर्ष बन्द भएपछि अहिले पुनस् सञ्चालनमा आएको छ ।
विभागका इन्जिनियर सुमोद पोखरेलका अनुसार अहिले जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालन भइरहेको छ भने त्यसलाई बिजलपुरासम्म पुर्याउन थप ५२ किमी रेलमार्गको निर्माण कार्य अन्तिम चरणमा छ ।

रेल
त्यस्तै भारतको बथनाहावाट विराटनगर भन्सार कार्यालय सम्मको १० किमी रेलमार्ग सञ्चालनको अन्तिम तयारीमा रहेको पनि विभागले जनाएको छ।
भारतले बनाइदिने भनी सम्झौता गरिएका भनिएका जलपाईगुडी काँकडभिट्टा, नौतनुवा भैरहवा र रुपेडिया( नेपालगन्ज जस्ता प्रस्तावित रेलमार्गको काम भने अझै अगाडि बढाइएको छैन।(बीबीसीबाट)


















