Prakash Adhikari August 1, 2022

भुवनेश्वर(भारत), १५ श्रावण । साफ यू–२० च्याम्पियन्सिप अन्तर्गत भारतसँगको खेलमा नेपालले हार व्यहारेको छ।

भारतको भुवनेश्वरमा आइतबार भएको खेलमा घरेलु टोलीसँग नेपाल ८–० को फराकिलो अन्तरले पराजित भएको हो।

च्याम्पियनसिपको तेस्रो खेलमा यो नेपालको पहिलो हार हो। भारतको भने तेस्रो खेलमा यो लगातार दोस्रो जित दर्ता गरेको हो। खेलमा नेपाल र भारत दुुवैले दुई दुई जित निकालेकोले दुवैको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ।

राउण्ड रोविनको अन्तिम खेलमा नेपालले मंगलबार बंगलादेशसँग खेल्नेछ भने भारतले माल्दिभ्संग खेल्न बाँँकी छ ।

भारतसँगको फराकिलो हारसँगै नेपाललाई अर्को खेलमा बंगलादेशमाथि जित निकाल्न दबाब बढेको छ।

बंगलादेशसँग बराबरीको नतिजाले पनि नेपालको फाइनल पुग्ने सम्भावना कमजोर हुनेछ भने भारतको अर्को खेलको नतिजा पनि पर्खनुपर्ने छ।

आइतबारको खेलमा पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ७ गोल खान पुग्यो। खेलको सुरुवातबाट नै दबाबमा रहेको नेपाली टोली आजको खेलमा आक्रमण र रक्षपक्ती दुवैमा कमजोर देखियो।

खेलको ३२ औँ मिनेटमा भारतका टाइसन सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन्। खेलको ५१ औँ मिनेटमा प्रथिव सुन्दरले गोल गर्दै अग्रता दोब्बर पारे।

त्यसको १ मिनेट नबित्दै सुन्दरले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३–० को अवस्थामा ल्याए।

खेलको ६४ औँ मिनेटमा पठुम गुम्हानाले गोल गर्दै भारतलाई ४–० को अग्रता दिलाए। ७१ औँ मिनेटमा हिमान्सुले पेनाल्टीमा गोल गर्दै भारतलाई ५–० को अवस्थामा ल्याए। ७८ औँ मिनेटमा मोहम्मद रिकाजले गोल गर्दै भारतलाई ६–० को अन्तर दिलाए।

खेलको अन्तिममा दुई गोल थप्दै भारतले ८–०को फराकिलो जित निकालेको हो।

नेपालले पहिलो खेलमा मालदिभ्सलाई ४–० ले तथा श्रीलंकालाई ३–० ले पराजित गरेको थियो। पहिलो खेलमा बंगलादेशसँग २–१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४–० ले हराएको थियो।

 

Share Now

Leave a comment.