सेन्टपिट्सवर्ग(रुस),६ चैत्र(बीबीसी) । सन् २०१४ मा क्राइमियालाई रुसमा विलय गराउन युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गराएको सैन्य हस्तक्षेप होस् वा सिरियाली सरकारी फौजलाई बलियो बनाउन विद्रोहीहरूमाथि गरिएको बमबारी, त्यस्तो कदमले धेरै पर्यवेक्षकहरूलाई चकित पारिदिएको थियो।
संयुक्त राज्य अमेरिका तथा उसका नेटो साझेदारहरूबाट वर्षौँसम्म अपमानित महसुस गरेपछि रुसी शक्तिलाई पुनः सृदृढ गरिने पुटिनको प्रतिबद्धता कसैबाट लुकेको छैन।
अमेरिकामा सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा डोनल्ड ट्रम्पलाई सहयोग पुग्नेगरी पुटिनका साझेदार तथा धनाढ्य व्यापारी येव्गेनी प्रिगोज्हिनले रुसी हस्तक्षेप गराएको आरोप अमेरिकी अभियोजनकर्ताहरूले लगाउँदै आएका छन्।
मुख्यत: सामाजिक सञ्जालहरूमा भएको भनिएको उक्त हस्तक्षेपले पुटिन निकटस्थ अधिकारीहरूमाथि थप प्रतिबन्ध लगाउनेतर्फ कदमतर्फ डोर्याएको थियो।
प्रतिबन्ध
सन् २०१४ मार्चयता युरोपेली सङ्घ (ईयू) तथा अमेरिकाले युक्रेनमा रुसी सैन्यको भूमिकाबारे रुसी अधिकारी र कम्पनीहरूमाथि थप प्रतिबन्ध लगाएका छन्।
ती प्रतिबन्धहरूका कारण पुटिनका धेरैजसो सहयोगीहरू यात्रा गर्न र आर्थिक सेवाहरू लिनबाट बञ्चित भएका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनको प्रशंसा गर्दै रुससँग आफूले सम्बन्ध सुधार्न चाहेको अभिव्यक्ति दिएका थिए।
तर केही मानिसहरूले अमेरिका र रुसबीच चिसिएको सम्बन्धलाई ‘नयाँ शीतयुद्ध’ को संज्ञा दिने गरेका छन्। उनीहरूबीचको आपसी अविश्वास निकै गहिरो भएको बताइन्छ।
रुस ईयूको “रणनीतिक साझेदार” पनि रहेन। पूर्वी यूक्रेनमा रहेका रुस-समर्थक विद्रोहीहरूलाई रुसले हतियार र सैन्य सहायता उपलब्ध गराउन सघाएको आरोप पश्चिमी देशहरूले लगाएका छन्।
पुटिनले युक्रेनमा रहेका विद्रोहीहरूलाई सहयोग गर्न रुसीहरू स्वेच्छाले त्यहाँ गएको स्वीकार गरेका थिए।
युक्रेनको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको भन्ने आरोपप्रति पुटिन आक्रोशित भएका थिए।
युक्रेनमा भएको ‘सत्तापलट’ का कारण युक्रेनका तत्कालीन राष्ट्रपति भिक्टर यानुकोविच सन् २०१४ को फेब्रुअरीमा रुसतर्फ भागेका थिए।
युक्रेनमा सङ्कट उत्पन्न हुनुभन्दा पहिला पुटिनले सोभियत संघको पतनलाई ‘बीसौँ शताब्दीको सबैभन्दा ठूलो विनाश’ भनेका थिए। रुसको सीमासम्म नेटोको विस्तार भएको प्रति उनले तितो पोख्दै विरोध जनाएका थिए।
भ्लादिमिर पुटिनः गुप्तचरदेखि राष्ट्रपतिसम्मको यात्रा
सन् १९५२: यस सालको अक्टोबर ७ मा लेनिनग्रादमा (हालको सेन्ट पिटर्सबर्ग) पुटिनको जन्म
कानुनको अध्ययनपछि राज्यको सुरक्षा मामिला हेर्ने निकाय- केजीबीमा संलग्न
साम्यवादी पूर्वी जर्मनीका लागि गुप्तचरी। आफ्नो शासनकालमा केजीबीका पूर्वसहकर्मीहरूलाई उच्चपद दिएका छन्।
१९९०को दशक : यस दशकमा उनलाई पहिला कानुन पढाएका सेन्ट पिटर्सबर्गका मेयर एन्टोनी टोनी सोब्चकका शीर्ष सहयोगीसँग भेट भएको थियो।
सन् १९९७ : रुसका भूतपूर्व राष्ट्रपति बोरिस येल्त्सिनको सरकारमा सहभागी भएका थिए र उनलाई केजीबीको मुख्य उत्तराधिकारी मानिने सङ्घीय सुरक्षा सेवा- एफएसबीको प्रमुख (प्रधानमन्त्री) बनाइएको थियो।
सन् १९९९, नयाँ वर्षको पूर्वसन्ध्या : येल्त्सिनले राष्ट्रपति पदबाट राजीनामा दिए र पुटिनलाई कार्यवाहक राष्ट्रपति बनाए
सन् २०००: मार्च महिनामा भएको राष्ट्रपतीय निर्वाचनमा सहज जित
सन् २००४: दोस्रो कार्यकालका लागि निर्वाचित
रुसको संवैधानिक व्यवस्थाअनुसार तेस्रो पटक राष्ट्रपतिको निर्वाचनमा भाग लिन नपाइने हुनाले उनी प्रधानमन्त्री बने।
सन् २०१२: तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित
लामो समयदेखि शासन गरिरहेको भएपनि जनताले पुटिनलाई रुचाएको देखिन्छ। रुसी संचारमाध्यका अनुसार उनको लोकप्रियता यस्तो छ कि जुन पश्चिमी देशका नेताहरू कल्पना मात्र गर्न सक्छन्।
रुसी सञ्चारमाध्यममा उनको राष्ट्रवादी व्यवहारले प्रमुखता पाउने गर्छ र उनको पक्षमा समाचारहरू आउँछन्। यसै कारणले उनका आलोचकहरुको आवाज दबाइने गरिन्छ।
सन् २०१२ मा उनी तेस्रो पटक छ वर्षे कार्यकालका लागि राष्ट्रपतिको पदमा निर्वाचित भए। त्यसभन्दा अघि राष्ट्रपति दिमित्री मेदभेदेभ कार्यकालमा उनी प्रधानमन्त्री भएका थिए तर अधिकारहरू उनकै हातमै थियो।
उनको अघिल्ला दुई कार्यकालमा रुसले उसका मुख्य निर्यात वस्तुहरु- तेल र ग्यास निर्यात गरी प्रशस्त पैसा कमायो। जसबाट रुसी नागरिकहरुका जीवनस्तर उकासिन पुग्यो।
सन् २००८ को विश्व आर्थिक मन्दीपछि रुसको अर्थव्यवस्थामा नराम्रो असर पुग्यो। मन्दीले सुस्ताउन पुगेको अर्थतन्त्र हालै घटेको तेलको मूल्यका कारण थप असरहरुको सामना गरिरहेको छ। कैयौँ विदेशी लगानीकर्ताहरु तथा अर्बौँ डलर पूँजी रुसले गुमाउन पुग्यो।
तेस्रो पटकको राष्ट्रपतीय चुनाव लड्ने क्रममा सोभियत काल पछिकै सबैभन्दा ठूलो सरकार- विरोधी प्रदर्शनहरु रुसमा भए।
आन्दोलन गरेका नेताहरु जेलमा हालिए वा नभए पाखा लगाइए जसमा प्रमुख विपक्षी नेता एलेक्सी नभाल्नी पनि परे।
देशमा व्याप्त भ्रष्टचारको भण्डाफोर गर्दै नभाल्नीले राजनीतिक रुपमा आफूलाई स्थापित गर्न सके र पुटिनको पार्टी यूनाइटेड रसियालाई “बदमास र चोरहरुको दल” को संज्ञा दिए।
‘मानवअधिकार हनन‘
पुटिनको तेस्रो कार्यकाल रूढीवादी रुसी राष्ट्रवादको रूपमा देखियो। कट्टरपन्थी गिर्जाघरको प्रभावमा कैयौँ प्रतिबन्धहरू लगाइए।
समलैङ्गिकताबारे सन्देश फैलाइरहेका समूहहरूमाथि रोक लगाउनेमा गिर्जाघरले समर्थन जनायो।
राष्ट्रपति बनेपछि पुटिनले उदारवादीहरूलाई हटाउँदै कट्टरपन्थी साझेदारहरू वा तटस्थ देखिएका तर आफ्नो कुरा मान्नेहरूलाई नियुक्त गरे।
कुनै बेलाका विश्वकै सबैभन्दा धनाढ्य व्यापारी मिखाइल खोडोर्कोभ्स्की र पुटिनविरोधी ‘पुसी राइट’ नामक सांगीतिक समूहका अभियानकर्मीहरूलाई जेल हालिएपछि त्यसले अन्तर्राष्ट्रिय स्तरमै रुसी मानवअधिकारको अवस्थामा बारे चासो उत्पन्न गराएको थियो।
सन् २००६ मा उनका विरोधी एलेक्जेन्डर लिटभिन्कोलाई रेडियो विकिरणयुक्त विष दिएर मारिएपछि ब्रिटेनसँगको पुटिनको सम्बन्ध ब्रिगिन पुग्यो। उनको हत्या रुसी एजेन्टहरूले गरेको आरोप लागेको थियो।
यसलाई विश्वमञ्चमा रुसको नयाँ हठको थप प्रमाणका रूपमा हेरिएको थियो।