काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग बुधवार सामुहिक छलफल गर्ने कार्यक्रम तय भएको छ ।
प्रदेश सरकार गठन भएपछि कानूनी अधिकार स्पष्ट नभएको र प्रदेश सभाबाट विधेयक बन्न नपाएकोले सोेचे र देखे जसरी काम नपाएको गुनासो मुख्यमन्त्रीहरुले गर्दै आएका छन् ।
प्रदेश सरकार गठन भए यता देखे भोगेका समस्याहरुका बारेमा सामुहिक छलफल गरी प्रदेशको कार्य प्रभावकारी रुपमा सञ्चालन गर्न सहजीकरण गर्ने प्रधानमन्त्रीको तयारी छ ।
प्रदेश सरकारका मन्त्री र प्रदेश सांसद प्रदेश राजधानीमा भन्दा काठमाडौंमा बढी समय बिताउदै आएका छन् ।
मुख्यमन्त्री र मन्त्रीले गाडीमा झण्डासमेत हाल्न पाएका छैनन् । कतिपय प्रदेश मन्त्रीलाई गाडी समेत दिइएको छैनन् ।
यस्तो छलफलमा प्रदेश सचिव पनि सहभागी हुनेछन् ।
प्रदेशका मुख्य न्यायाधिवक्ताहरुलाई पनि सहभागी गराउने तयारी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
यस अघि ओलीले आइतवार मन्त्री र सचिवलाई सरकारले गर्न चाहेको कामवारे सामूहिक निर्देशन दिएका थिए ।