Prakash Adhikari October 2, 2022

काठमाडौं, १७ असोज । बडा दशैंको आठौं दिन आज देशभर महागौरी दुर्गा भगवतीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ ।

आजैको दिन देवीले राक्षसहरुलाई मारेको दिनभएकोले जनावारहरुको बलिदिने चलनको सुरुवात गरिएको हिन्दु धर्मग्रन्थहरुमा उल्लेख छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन पूजाकोठा, दशैं घर अथवा मण्डपमा वैदिक विधिपूवक नव दुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको स्थानमा आज महा अष्टमीको पूजाआजा गरिन्छ ।

आज मध्यरातमा कालरात्रीको पूजा गर्ने चलन छ । मध्यरातको यस पूजाबाट प्रसन्न भई देवीले शुभफल र कल्याण दिन्छिन् भन्ने विश्वास रहेको छ ।

दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । काठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायत शक्तिपीठमा बलि दिने प्रचलन छ ।

यस्तै, काभ्रेस्थित पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगञ्जको गहवामाई, सप्तरीको छिन्नमस्ता, जनकपुर राजदेवी, डडेल्धुरा उग्रतारालगायत पीठहरुमा पूजाआराधना हुन्छ ।

दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीक मानेर चामल, सुनचाँदीका गहना, सुपारी, जनै र नैवेद्यसहित नौ वटा वस्तुको दुर्गा थापी पूजा गर्ने चलन छ । किसानले फलामे औजारको पूजा गर्छन् । यस्तै, सवारीधनीहरुले आफ्ना साधनलाई बलिसहित पूजा गर्छन् ।

पशुबलि नचढाउनेहरुले पूजाकोठामा मूला, कुभिन्डो, घिरौंलालगायत तरकारीको बलि दिने गर्छन् । कतिपय स्थानमा दुर्गा भवानीलाई खीर र नरिवल चढाउने चलन पनि छ ।

 

Share Now

Leave a comment.