काठमाडौं, ३ कार्तिक । यसै साता काठमाण्डूका सुरेश (नाम परिवर्तन) लाई डेङ्गी सङ्क्रमण भयो। लगत्तै स्वास्थ्य स्थिति गम्भीर बनेपछि उहाँलाई त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पताल भर्ना गरियो। उपचारकै क्रममा उनको रगतमा प्लेटलेट्सको मात्रा घट्यो र नाकबाट उच्च रक्तस्राव हुन थाल्यो।
मङ्गलवार चिकित्सकहरूले ३७ वर्षीय सुरेशको शरीरमा प्लेट्लेट्सको सङ्ख्या ७००० मात्र रहेको र तत्काल ६ पिन्ट रगत आवश्यक परेको बताएपछि बिरामीकी एक बहिनी बी पोजेटिभ रगतको खोजीमा विभिन्न अस्पताल र ब्लड ब्याङ्कहरू धाउनुभयो।
“दाइको अवस्था गम्भीर थियो। सङ्कलित रगत भेटिएन। केही दाताहरूसँग आग्रह गरेँ तर मानिसहरूलाई मनाउनै समय लाग्यो”, उहाँले भन्नुभयो, “साह्रै गाह्रो गरी रगत दिने मानिस भेट्यौँ। ७ ।८ जना फरकफरक ठाउँमा बाँडिएर आवश्यक रगत जम्मा गरेका हौँ।”
ललितपुरकी श्वेता राई पनि आफ्नी आमाको निम्ति रगत खोज्न हम्मेहम्मे परेको सुनाउँनुहुन्छ। गत साता डेङ्गीका कारण थलिएकी उनकी आमाको शरीरमा प्लेटलेट्सको मात्रा घटेर १० हजारभन्दा कम भएको थियो।
“डाक्टरले साँझ परेपछि मात्र रगत चाहिने बताउनु भयो। तर अस्पतालमा थिएन। रात पर्दै जाँदा रगत दिन चाहने पनि भेट्न गाह्रो भयो”, राईले भन्नुभयो।
सामाजिक सञ्जालमार्फत् विभिन्न समूह र व्यक्तिलाई आग्रह गरेपछि मध्यरातमा दाताले रगत दिएको उहाँको कथन छ।
काठमाडौंलगायत देशभरका प्राय जिल्लामा डेङ्गी प्रकोप बनेर फैलिएको छ। बिरामीहरूको सङ्ख्या बढेसँगै रगतको अभाव देखिएको जानकारहरू बताउनुहुन्छ।
नेपाल रेडक्रस सोसाइटीका सूचना अधिकारी धर्म दत्त बिडारीले फ्रेस रगत पाउन मुस्किल भएको बताउनुभयो।

रक्तदान
“दशैँ तिहारबीचको समयमा प्राय रगत अभाव हुन्छ। यसपटक पनि त्यही समस्या देखिएको हो”, उहाँले भन्नुभयो।
डेङ्गीसँगै क्यान्सरका बिरामी र अन्य शल्यक्रिया भएका वा गर्न पर्नेहरूले समेत रक्त अभाव भोगिरहेका छन्।
आखिर रगतको अभाव किन भयो ?
रगत अभाव हुनुको पहिलो कारण चाडपर्वको समयमा पर्याप्त रक्तदान र सङ्कलन कार्यक्रम आयोजना नहुनुलाई इङ्गित गर्नुहुन्छ रेडक्रस नेपाल, केन्द्रीय रक्तसञ्चार सेवाका उपनिर्देशक डा. प्रकाशकुमार यादव।
उहाँ भन्नुहुन्छ,”एक त दशैँको बेलामा रक्त सङ्कलन नै कम हुन्छ। त्यसमाथि दशैँ मनाउन अधिकांश युवा गाउँघरतिर जान्छन्। त्यसैले रक्तदान कार्यक्रमहरूमा पनि पर्याप्त जम्मा हुँदैन।”
तर सबै बिरामीको हकमा सङ्कलित रगतले काम नगर्ने उहाँले बताउनुभयो।
अहिले विशेष गरी डेङ्गीको बिरामीका लागि रगत आवश्यक परेको देखिन्छ।
“उनीहरूको रगतमा प्लेटलेट्सको मात्रा थप्नु पर्ने हुन्छ। त्यसका लागि ताजा रगत चाहिने भएकाले पनि रगत समयमा उपलब्ध गराउन असमर्थ भएका छौँ “, डा. यादवले भन्नुभयो।
डेङ्गीका बिरामीहरूमा प्लेटलेट्सको कमी
चिकित्सकहरूका अनुसार अहिले अस्पतालमा उपचाररत डेङ्गीका गम्भीर बिरामीहरूमध्ये धेरैमा प्लेटलेट्सको कमी देखिएको छ।
जसका कारण बिरामीको गिजा, नाकलगायत शरीरको विभिन्न भागबाट रक्तस्राव भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले बताएका छन्।
उहाँका अनुसार केही महिला सङ्क्रमितहरूले आफ्नो महिनावारीको समयमा समेत अन्य समयभन्दा बढी रक्तस्राव भएको जनाएका छन्।
के हो प्लेटलेट्स ?
प्लेटलेट्स मानिसको शरीरमा हुने कोशिका हो। विज्ञहरूका अनुसार यसले शरीरमा कुनै पनि किसिमको चोट लागेर वा अन्य स्वास्थ्य समस्याका कारण हुने रक्तस्राव रोक्न मद्दत गर्छ।
सामान्यतया मानव शरीरमा प्रति माइक्रोलिटर रगत बराबर १ लाख ५० हजारदेखि ४ लाख प्लेटलेट्स हुनुपर्ने बताइन्छ।
“रगतबाट प्लेटलेट्स छुट्टाउन ४ घण्टा लाग्छ र त्यो ७२ घण्टादेखि ५ दिनसम्म मात्र प्रयोग गर्न योग्य हुन्छ। समयावधिका कारण पनि अहिले भनेकै बेला रगत पाउनु चुनौतीपूर्ण बनेको छ।”
तर एकजना विज्ञले भने हाल नेपालमा अनुचित ढङ्गमा प्लेटलेट्स दिइरहेको दाबी गर्नुभयो।

रक्तदान
प्लेट्लेट्सको अनावश्यक प्रयोग
रक्तसञ्चार विशेषज्ञ डाक्टर विपिन नेपालले भन्नुभयो, “प्लेटलेट्स आवश्यक नै नभएका बिरामीहरूलाई समेत दिइएको छ। जसले गर्दा रगतको माग उच्च भएको हो र अभाव देखिएको हो।”
विश्व स्वास्थ्य सङ्गठनले मानव शरीरमा रक्तश्राव नभइरहेको अवस्थामा प्लेटलेट्स १० हजार पुगेको खण्डमा समेत पर्खन सकिन्छ भन्ने मापदण्ड तय गरेको छ।
यद्यपि, हाल नेपालका चिकित्सकहरूले २० हजारदेखि ५० हजार प्लेटलेट्स भएकाहरू बिरामीहरू जसको कुनै रक्तस्राव सम्बन्धी जटिलता देखिएको छैन, उनीहरूका लागि समेत थप रगत माग गरेको डा. नेपालले जिकिर गर्नुभयो।
उहाँले भन्नुभयो,”यो चिकित्सकहरूले पढ्नु पर्ने अत्यावश्यक विषय हो। तर व्यवहारमा त्यो लागु भएको पाइँदैन।”
रगत माग गर्ने गलत अभ्यास
२७ हजारभन्दा बढी सदस्य भएका फेसबुक समूह ब्लड अन रिक्वेस्ट नेपाल धेरैका निम्ति रगत वा दाता आग्रह गर्ने बलियो माध्यम बनेको छ।
अभाव देखिएको अवस्थामा धेरैले आफन्त वा चिनजानका बिरामीको लागि सोही समूहमार्फत् सहयोग अपिल गरेका छन्।
त्यस्ता पोस्टहरूमा रक्त समूह साथै अधिकांशले पीआरपी आवश्यक भएको जनाएका छन्।
तर, डा. नेपाल भने पीआरपी भनेर रगत खोज्नुलाई ूगलत अभ्यासूको संज्ञा दिनुहुन्छ।
“आम मानिस त डाक्टरले जे लेखिदियो त्यही खोज्छन्। तर पीआरपीमा प्लेटलेट्ससँगै प्लाज्मा पनि हुन्छ। स्वास्थ्यकर्मीले पीआरपीभन्दा पनि प्लेटलेट्स कन्सर्नट्रेट माग गर्नु पर्छ”, डा. विपिन नेपालले सुझाव दिनुभयो।
त्यस्तै प्लेटलेट्स जुनसुकै रक्त समूहको पनि प्रयोग गर्न सकिने उहाँले बताउनुभयो।
“ओ पोजेटिभ रगत समूहका बिरामीको लागि त्यही समूहको रगत चाहिन्छ भन्ने हुँदैन। दाता स्वस्थ्य र तयार भएको खण्डमा जुन समूहको पनि प्रयोग गर्न मिल्छ।”
निकालिएको प्लेटलेट्सलाई हल्लाएर राख्ने विशेष उपकरण हुन्छ। उनले नेपालका अधिकांश अस्पतालहरूमा उक्त उपकरण नभएकाले त्यसको असर बिरामीलाई दिइने प्लेटलेट्समा पर्नसक्ने चेतावनी समेत दिए।
यसअघि कोरोनाभाइरस महामारीको बेलामा प्लाज्मा थेरापीको प्रयोग बढेसँगै रगतको अभाव देखिएको थियो।(बीबीसीबाट)


















