Prakash Adhikari December 9, 2022

 

काठमाडौं, २३ मंसिर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई संघीय संसदका महासचिव डा.भरतराज पौडेलले दिनुभएको फुकुवा पत्रका विरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ।

जबरासँगै संघीय संसद्का महासचिव डा.भरतराज गौतमलाई विपक्षी बनाएर बुधबार सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटको सुनुवाइ संवैधानिक इजलासमा हुन लागेको हो।

संघीय संसदका महासचिव डा. गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सिफाई दिने गरी बुधबार पत्र पठाएसँगै न्यायकर्मी र संसद सचिवालयबीच विवाद बढेको छ । सर्वोच्च अदालतको फुलकोर्ट बसेर बुधवार नै संसद महासचिवलाई आधा दर्जन प्रश्न सोधिसकेको छ ।

संसद महासचिव डा. गौतमले क्षेत्राधिकार मिच्दै जबराको महाभियोग निष्क्रिय बनाएकाले गौतमको पत्र कार्यान्वयन नगर्न–नगराउन भन्दै रिटमा अन्तरिम आदेश माग गरिएको छ।

रिटमा महासचिव डा. गौतमले ‘प्रतिनिधिसभाको क्षेत्राधिकारमा अनुचित बन्देज तथा हस्तक्षेप’ गरेकाले यो कार्य गैरकानुनी रहेको दाबी गरिएको छ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका सत्ता गठबन्धनका सांसदहरुले गत फागुन १ गते महाअभियोग लगाएपछि निलम्बनमा रहेका जबरालाई महासचिव डा. गौतमले सफाइ दिने गरी बुधबार पत्र पठाउनुभएको थियो।

निलम्बित प्रधानन्यायाधीश जबराले आफूउपरको महाभियोग प्रस्ताव निष्प्रभावी भएकाले नियमित कार्यसम्पादन गर्न पाउने दाबीसहित सम्बन्धित निकायहरूमा यसको जानकारी गराउन मंगलवार संसद् सचिवालयमा निवेदन दिनुभएको थियो।

त्यसपछि संघीय संसदका महासचिव डा. गौतमले जबराकै दाबीअनुसार महाभियोग निष्प्रभावी भएको भन्दै ती निकायलाई पत्राचार गर्नुभएको थियो।

संसद महासचिव डा.गौतमको पत्रपछि बुधवारै निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्ने तयारीमा हुनुहुन्थ्यो । नेपाल वारका पदाधिकारीले जबरालाई सर्वोच्च प्रवेशमा अवरोध गरेका थिए भने सरकारले पनि उहाँलाई सर्वोच्चमा प्रवेश नदिन प्रहरी परिचालन गरेको थियो।

Share Now

Leave a comment.