काठमाडौँ, २ पौष। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष गठबन्धनका तर्फबाट आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा अध्यक्ष प्रचण्डले सो प्रस्ताव राख्नुभएको हो ।
अध्यक्ष प्रचण्डले गठबन्धनकै सहयोगमा प्रधानमन्त्री भएर निर्वाचन सम्पन्न गराएको र गठबन्धन नेतृत्व सरकारको कार्यकाल सफल रहेको भन्दै अब बन्ने नयाँ सरकारको नेतृत्वका लागि सहयोग गर्न आग्रह गरेको बताइएको छ ।
प्रचण्डको निजी सचिवालय स्रोतका अनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा यसरी सहयोग गर्न देउवासमक्ष औपचारिक रूपमा भनेको यो पहिलो पटक हो ।
यसअघि प्रचण्डले विभिन्न औपचारिक मञ्चहरूमा प्रधानमन्त्रीमा आफ्नो दाबी गर्दै आउनुभएको हो ।
आजको भेटमा भने प्रधानमन्त्री समक्ष प्रस्ताव नै राखेको बताइएको छ ।
जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धनमा यो विषयमा छलफल गर्ने भनी जवाफ दिएको स्रोतले जनाएको छ । ‘गठबन्धनमा जे सहमति हुन्छ त्यो अनुसार अगाडि बढ्न आफू तयार रहेको धारणा प्रधानमन्त्री देउवाले राख्नुभयो’ स्रोतले भन्यो ।
प्रधानमन्त्री देउवाले पनि अगामी सरकारको नेतृत्व आफूले नै गर्ने भनी सङ्केत गर्दै आइरहनुभएको छ । उहाँले औपचारिक रूपमा कतै यो विषयमा धारणा नराखे पनि आफ्ना निकट नेताहरूसँग यो अन्तिम पटक आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने बताउँदै आउनुभएको छ ।
काँग्रेसभित्रै महामन्त्री गगन थापा पनि संसदीय दलको नेताको प्रतिस्पर्धा गरी प्रधानमन्त्री बन्ने लाइनमा उभिने तयारीमा हुनुहुन्छ ।


















