Prakash Adhikari December 18, 2022

सानेपा(ललितपु), ३ पौष । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा बसेको कार्यसम्पादन समितिको बैठकले औपचारिक रुपमा नयाँ सरकारको नेतृत्वमा दाबी गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले ‘गठबन्धनको सरकारलाई निरन्तरता दिने कांग्रेसको मनशाय रहेकोले सरकार गठनका सम्बन्धमा गठबन्धनमा रहेका र नरहेका दलहरुसंग पनि परामर्श हुने बताउनुभएको छ ।

नेपाली कांग्रेस ठूलो दल भएकाले आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्ने कांग्रेसको दावी छ ।

आइतबारकै बैठकले दलको नेता चयनका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा निर्वाचन समिति बनाएको छ । समितिका सदस्यहरुमा पूर्व उपसभामुख तथा केन्द्रीय सदस्य पुष्पा भुसाल र केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही रहनुभएको छ । संसदीय दलको चुनाव मंगलवार वा बुधबार हुने संभावना रहेको छ ।

संसदीय दलको चुनावमा आफूहरुको प्रयास पार्टी सभापतिकै नाममा सहमति जुटाउने भएको भन्दै कांग्रेस प्रवक्ता डा. महतले सर्वसम्मत हुन नसकेमा लोकतान्त्रिक प्रक्रिया अनुरुप निर्वाचनको माध्यमबाट नेतृत्व चयन हुने बताउनुभयो ।

बैठकले नेपाली कांग्रेस पार्टीको नेतृत्वमा आगामी सरकारको गठन गर्नका लागि गठवन्धनमा रहेका दलहरु लगायतसँग आवश्यक संवाद, वार्ता र छलफल प्रक्रिया प्रारम्भ गर्ने निर्णय गर्नुका साथै प्रदेश सरकार गठनका लागि प्रक्रिया आरम्भ गर्न पनि प्रदेश कार्य समितिलाई निर्देशन दिएको छ ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, नेपाली कांग्रेसको विधान, नियमावली तथा नेपाली कांग्रेस प्रदेश संसदीय दलको विधानको व्यवस्था बमोजिम प्रदेश संसदीय दलको नेता एवं प्रदेश संसदीय दल कार्यसमितिको निर्वाचन सम्बन्धी प्रक्रिया प्रारम्भ गर्न सातवटै प्रदेश कार्यसमितिलाई निर्देश गर्ने ।

कांग्रेसको कार्य सम्पादन समितिको बैठकले प्रदेशमा पार्टीले सरकारको नेतृत्व गर्ने वा सरकारमा सहभागी हुने वा अन्य दललाई समर्थन गर्ने वा नगर्ने लगायतका विषयमा नेपाली कांग्रेसको विधानको धारा १३ (७) (ठ) बमोजिम केन्द्रसंग समन्वय गरी आवश्यक प्रक्रिया प्रारम्भ गर्न प्रदेश कार्यसमितिलाई निर्देश गर्ने निर्णय पनि गरेको छ ।

Share Now

Leave a comment.