दोहा(कतार), ४ पौष । कतार विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले उचालेको छ। साबिक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वपको उपाधि जितेको हो।
विश्वकपको उपाधिसँगै व्यक्तीगत स्पर्धाको उपाधिमा पनि अर्जेन्टिनी खेलाडीको वर्चश्व रह्यो। कतार विश्वकपको युवा खेलाडी अर्जेन्टिनाका मिडफिल्डर २१ वर्षीय इन्जो फर्नान्डेज बने।
प्लेयर अफ दि टुर्नामेन्टः लियोनल मेस्सी (अर्जेन्टिना)
गोल्डेन बुटः केलियन एम्बाप्पे (फ्रान्स)
गोल्डेन ग्लब्स : इमी मार्टिनेज (अर्जेन्टिना)
युवा खेलाडीः इन्जो फर्नान्डेज (अर्जेन्टिना)
फेयर प्ले अवार्ड: इंग्ल्याण्ड
दुईपटक गोल्डेन बल जित्ने पहिलो खेलाडी मेस्सी

विश्वकपको उपाधिसँगै गोल्डेन बल जितेका अर्जेन्टिनी लियोनल मेस्सीले अर्को कीर्तिमान पनि बनाएका छन्। मेस्सीले दुई पटक गोल्डेन बल जित्ने खेलाडीको कीर्तिमान बनाएका हुन्।
यसअघि २०१४ मा अर्जेन्टिना उपविजेता हुँदा पनि मेस्सीले गोल्डेन बल जितेका थिए। त्यतिबेला जर्मनीले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो।
तर ८ वर्षपछि फेरि फाइनलमा पुगेको अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्दै तेस्रो पटक विश्वकपको उपाधि जितेको हो।
अर्जेन्टिनालाई उपाधि जिताउँदा मेस्सीले फाइनलमा २ गोल गरे। जारी विश्वकपमा उनले ७ गोल गरे। तर फाइनलमा भने अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई पराजित गरेको हो।

निर्धारित समय २–२ मा सकिएको खेल अतिरिक्त समयमा पनि बराबरी भएको थियो। अतिरिक्त समयमा खेल ३–३ को बराबरी भएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो।
यो विश्वकपमा मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक गोल कर्ता, सबैभन्दा धेरै विश्वकप खेल्ने खेलाडी लगायतका कीर्तिमान समेत बनाए।
त्यो भन्दा बढी त उनले विश्वकप जिताउने ठूलो लक्ष्य पूरा गरे।
यो सँगै मेस्सीले खेलेका सबै खालका उपाधि जितेका छन् ।
एम्बाप्पेले जिते गोल्डेन बुट
फ्रान्सेली फरवर्ड केलियन एम्बाप्पेले कतार विश्वकपमा गोल्डेन बुट अवार्ड जितेका छन्। विश्वकपको व्यक्तिगत विधामा अर्जेन्टिना कै वर्चश्व हुँदा एम्बापेले मात्र गोल्डेन बल जितेका हुन्।

साविक उपविजेता फ्रान्स कतार विश्वकपमा अजेन्टिनासँग टाइब्रेकरमा पराजित हुँदै उपविजेतामा सीमित बनेको हो।
फाइनल खेलमा ह्याट्रिक गरेका एम्बापेले विश्वकप २०२२ मा ७ खेल खेलेका उनले ८ गोल गर्दै सर्वाधिक गोलकर्ता हुँदै गोल्डेन बुट अवार्ड जितेका हुन्। विश्वकपमा उनले २ असिस्ट पनि गरे।
सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा लियोनल मेस्सी रहे। मेस्सीले ७ खेलमा ७ गोल गर्दा ३ असिस्ट दिएका छन्।
सन् २०१७ देखि फ्रान्सको राष्ट्रिय टोलीबाट खेलिरहेका एम्बापेले ६६ खेलमा ३६ गोल गरेका छन्।
अर्जेन्टिनाकै जुलियन अल्भारेज फ्रान्सका ओलिभर जिरुडले समान ४ गोल गरेका छन्।
‘गोल्डेन ग्लोभ्स’ अर्जेन्टिनी गोलरक्षक मार्टिनेजलाई
अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले २२ औं संस्करणको विश्वकपमा गोल्डेन ग्लोभ्स अवार्ड जितेका छन्।

फ्रान्सविरुद्ध पेनाल्टी सुटआउटमा उत्कृष्ट बचाउ गर्दै अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निभाएको मार्टिनेज विश्वकपको उत्कृष्ट गोल रक्षक बनेका हुन्।
यसअघि क्वार्टर फाइनलमा नेदरल्याण्ड्सविरुद्ध पनि उनले पेनाल्टी रोक्दै टोलीलाई सेमिफाइनलमा पुर्याएका थिए। मार्टिनेजले विश्वकपका ७ खेलमा ३ क्लिनसिट राखे।
मार्टिनेजले यसअघि अर्जेन्टिनाले कोपा अमेरिका जित्दा पनि उत्कृष्ट गोलरक्षकको उपाधि जितेका थिए। ३० वर्षीय मार्टिनेज एस्टन भिल्लाबाट व्यवसायीक फुटबल खेल्छन्।
इन्जो फर्नान्डेज बने विश्वकपको उत्कृष्ट युवा खेलाडी
अर्जेन्टिनाका इन्जो फर्नान्डेजले विश्वकपको उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका छन्। जारी विश्वकपमा उनले १ गोल गरेका थिए।

२१ वर्षीय फर्नान्डेजले समूह चरणको दोस्रो खेलमा मेक्सिकोविरुद्ध गोल गरेका थिए। जुन खेल अर्जेन्टिनाले २–० ले जितेको थियो।
विश्वकपमा उनले ७ खेल खेलेका थिए।
सेन्टर मिडफिल्डर उनी व्यवसायीक फुटबल भने बेनिफिकाबाट खेल्छन्। अन्य अवार्ड पनि अर्जेन्टिनाकै बर्चश्व रहेको छ।
गोल्डेन बल कप्तान लियोनल मेस्सीले जिते भने उत्कृष्ट गोल रक्षक अर्जेन्टिनाकै इमिलियानो मार्टिनेज बने। अर्जेन्टिनाले ३६ वर्ष पछि विश्वकपको उपाधि जितेको हो।


















