Prakash Adhikari January 8, 2023

 

काठमाडौं, २४ पौष । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को खुद्रा बिक्री मूल्य घटाएको हो।

निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्यमा प्रतिलिटर तीन र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर २० घटाएको छ।

मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५, डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर एक सय ७२, हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर एक सय ७० र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.४२ अमेरिकी डलर कामय भएको निगमले जनाएको छ।

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर रु १ सय ७८, डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर रु १ सय ७५ र हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर रु १ सय ९० र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.६४ अमेरिकी डलर रहेको थियो।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ। हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८ सय रुपैया छ।

प्रधानमन्त्री पुष्प कमल दाहालले गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिनुभएको थियो।

वाणिज्य तथा आपूर्ति सचिव निगम सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था छ।

निगमले इण्डियन आयल कर्पोरेशनलाई आइतबारसम्म नियमित र बक्यौता गरी १८ अर्ब रुपैया तिर्न बाँकी रहेको जनाएको छ ।

घटेको पेट्रोलियम पदार्थको मूल्य आइतबार मध्यरात १२ बजेपछि कार्यान्वयनमा आउने निगमले जनाएको छ ।

Share Now

Leave a comment.