काठमाडौँ, १ माघ। आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको नाइन एन एएनसी(9N -ANC) एटीआर ७२ -५००(ATR 72-500) जहाज पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा नियन्त्रण बाहिर गई पोखराको सेती नदी खोंचमा दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनाग्रस्त विमानमा चालक दलका ४ जना र ६८ जना यात्रु सवार थिए ।
दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६८ जनाको शव फेला परेका छ।
केसीका अनुसार ३४ वटा शव निकालेर अस्पताल पुर्याइदिइएको र ३४ वटा शव खोँचमा भेटिएका छन्।
निकाल्न प्रयास भइरहेको छ । ३ सय मिटर गहिरो खोँच भएकाले शव निकाल्न कठिन भएको उहाँले बताउनुभयो। मृतकमध्ये ११ जनाको सनाखत भएको केसीले जानकारी दिनुभयो।
अहिलेसम्म कोही पनि जीवित नभेटिएको उहाँले बताउनुभयो।
जहाजमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए। दुर्घटनामा परेको जहाजमा आगो लागेको थियो। केही घण्टापछि आगो नियन्त्रणमा लिएर अहिले उद्धारको काम भइरहेको छ।


















