Prakash Adhikari January 17, 2023

दमौली(तनहुँ), ३ माघ । एक नाबालिग गायिका उपर यौनदूराचार गरेको मुद्दामा थुनामा रहेका अभिनेता पल शाहले सफाइ पाएका छन्।

जबरजस्ती करणीको मुद्दामा थुनामा रहेका पल शाहको मुद्दामा अभियोग दाबी नपुग्ने भन्दै जिल्ला अदालत तनहुँले मंगलबार सफाइ दिएको हो।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मुद्दाको अन्तिम सुनुवाइपछि उक्त फैसला भएको हो।

दुवै पक्षबाट मंगलबार दिनभर बहस भएको थियो। जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले शाहलाई सफाइ दिने फैसला आएको बताउनुभएको छ।

यो मुद्दा यसअघि पटक पटक पेशी तोकिए पनि स्थगित हुँदै आएको थियो। पलविरुद्ध नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो।

तर पछि पीडित भनिएकी किशोरीले नै अदालतमा बयान फेर्दै जाहेरी झुटो भएको बताएर मुद्दालाई कमजोर बनाइदिएपछि पललाई सफाई पाउने बाटो खुलेको हो ।

पल शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा परेका मुद्दामा भने उनलाई अढाइ वर्ष कैद र पीडित पक्षलाई १० लाख रुपैया क्षतिपूर्ति दिनुपर्नेे फैसला भएको थियो। उक्त फैसला अनुसार पलले अझै डेढ वर्ष बढी कैदमा बस्नुपर्छ।

तर पललाई अब जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालतमा जान सहज भएको छ ।

नवलपुर अदालतले जबरजस्ती करणीको आरोपमा सफाइ दिए पनि बाल यौन दुरुपयोगको कसुरमा सजाय तोकेको थियो।

 

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*