Prakash Adhikari January 17, 2023

 

काठमाडौं, ३ माघ । विख्यात आँखा विशेषज्ञ डा. सन्दुक रूइत बहराइनको प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएको छ ।

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार १० लाख डलरको छ । सो पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।

बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले प्रदान गर्ने यो अवार्डको पाँचौं संस्करणमा डा. रुइत चयन हुनुभएको हो ।

मंगलबार बहराइनको राजधानी मनमामा आयोजित पुरस्कार घोषणा समारोहमा राजाका प्रतिनिधिको रूपमा उपस्थित राजपरिवारका सदस्य शेख मो. बिन मुबारक अल खालिफाले डा. रुइतले मानव कल्याणमा अन्धोपन निवारणका लागि गरेको योगदानको कदर गर्दै इसा अवार्डका लागि छनोट गरिएको जानकारी दिनुभयो ।

डा.रुइतले मोतियाबिन्दु भएका बिरामीको उपचार गर्ने सरल विधि विकास गर्नुका साथै इन्ट्राकुलर लेन्सको विकास गरी विश्वमा सुलभ दरमा उपलब्ध गराउन विशेष योगदान दिनुभएको थियो । त्यसबाट नेपाललगायत विकासोन्मुख देशका अन्धोपन भएका लाखौं व्यक्तिले नेत्रज्योति प्राप्त गरेका छन् । डा. रुइतले सो पहल नगरेको भए ती मानिसहरूले सम्भवत संसार देख्न पाउने थिएनन् ।

Sanduk Ruit

यो अवार्डअन्तर्गत डा. रुइतलाई १० लाख डलर(झन्डै १३ करोड ८ लाख नेपाली रुपैयाँ), गोल्ड मेडल र प्रमाणपत्र आगामी फेब्रुअरी महिनामा प्रदान गरिनेछ ।

मंगलबार घोषणा गरिएको अवार्डका लागि सुरुमा १ सय ४५ जना व्यक्ति तथा संस्था मनोनयनमा परेका थिए । वैज्ञानिक, प्राध्यापक, पूर्वराजनीतिज्ञ लगायतका प्रतिष्ठित व्यक्तिहरूको छनोट समूहले उनीहरूमध्येबाट डा.रुइतलाई छनोट गरेको हो । १ सय ४५ प्रतिष्ठित व्यक्ति तथा संस्थाको सूचीबाट ६ व्यक्ति तथा संस्थालाई चयन गरिएको थियो । यमा अमेरिकास्थित परोपकारी संस्था मर्सी शिप, बंगालादेशको फ्रेन्ड्सशिप एनजीओ, गरिबको हितमा सक्रिय कोलम्बियाली क्यामिलो जोस हेरेया, वातावरण संरक्षणमा क्रियाशील केन्याकी न्जाम्बी माटी, स्वीटजरल्यान्डको जेनेभास्थित विश्व स्वास्थ्य संगठन फाउन्डेशन र नेपालका सन्दुक रुइत पर्नुभएको थियो ।

युनिभर्सिटी अफ मायामीका प्रसिद्ध कानुन प्राध्यापक जान पलसनको नेतृत्वमा रहेको जुरीले डा. रुइतलाई छनोट गरेको हो ।

६ जनाको सर्टलिस्ट प्रकाशित भएपछि अवार्ड छनोट समिति सदस्य तथा अनुसन्धानकर्ताहरूले ६ जना व्यक्ति र संस्था रहेको देशमा स्थलगत भ्रमण गरी उनीहरूले गरिरहेको कामबारे जानकारी लिएका थिए ।

The friendship of two 'miracle workers': Fred Hollows and Sanduk Ruit - ABC  Radio National

‘यो अवार्डका विजेताले मानव कल्याणका लागि व्यक्तिगत तहमा त्याग गर्नुभएको छ, जोखिम उठाउनुभएको छ र त्यो जोखिमसँग जुध्नका लागि लामो समय खर्चिनुुभएको छ,’ जुरीका प्रमुख रहेका पलसनले डा. रुइतलाई नै छनोट गर्नुको कारण उल्लेख गर्दै भन्नुभएको छ, ‘रुइत अस्ट्रेलिया पुग्नुभएको थियो । उतै बस्न सक्नुहुन्थ्यो । अमेरिका पुगेर निकै सुविधाजनक जीवनयापन गर्न सक्नुहुन्थ्यो । वा उहाँले आँखाका बिरामीका लागि सुविधाजनक र महँगा उपकरण अविष्कार गर्न सक्नुहुन्थ्यो । उहाँले त्यसो गर्नुभएन । बरु उपचारमा सबैको पहुँच पुर्‍याउने लेन्सहरू आविष्कार गर्नुभयो । त्यसको उपचार नेपालमा मात्र सीमित नराखेर संसारभर पुर्‍याउनुभयो । उहाँको त्यो मानव कल्याणको काममा टेवा पुर्‍याउन हामीले उनैलाई छनोट गरेका हौं । यसपटक विश्व स्वास्थ्य संघ पनि सर्टलिस्टमा परेको थियो । तर, हामीले अन्तिममा डा. रुइतलाई नै छान्यौं ।’

भारतमा चिकित्साशास्त्र अध्ययन गर्नुभएका डा।.रुइत एमबीबीएसमा शल्यक्रियामा गोल्ड मेडलिस्ट हुनुहुन्छ ।उहाँले सन् २००६ मा रोमन म्यागसेसे पुरस्कार पाउनुभएको छ, । सन् २०१८ मा भारत सरकारले पद्मश्री सम्मानबाट उहाँलाई सम्मानित गरेको थियो । अन्धोपन निवारणसहित सयौं व्यक्तिको दृष्टि फर्काउन भूमिका खेलेबापत २०७२ मा भुटान सरकारले नेशनल अर्डर अफ मेरिटले सम्मान गरेको थियो। उहाँ २०७५ सालमा नेपालमा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र २०७७ मा सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)बाट विभूषित हुनुभएको थियो।(स्रोतःकान्तिपुर)

Share Now

Leave a comment.