काठमाडौँ, ४ माघ । आज संघीय संसदको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरु सभामुख चयनका लागि उम्मेदवारी दिने तयारीमा जुटेका छन् ।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको प्रकाशित गरेको कार्यतालिका अनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ।
सभामुखको निर्वाचन भोलि माघ छ गते गर्ते कार्यक्रम रहेको छ ।
सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको छ।
निर्वाचन कार्यतालिकाअनुसार सभामुख पदमा मनोनयन दर्ता संसद् भवन नयाँबानेश्वरमा हुनेछ। बिहीबार हुने सभामुखको चुनावका लागि बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ। बुधबार ४ ः १५ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ।
दर्ता भएका मनोनयन प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन्।
सभामुख चयनका लागि माघ ५ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ।
प्राप्त प्रस्तावलाई प्रस्तावकले बैठकमा पेस गरेपछि समर्थन गर्ने दलका तर्फबाट सदस्यहरूले समर्थन गर्नेछन्।
सबै प्रस्तावमा सोही प्रक्रिया चल्नेछ। छलफल सकिएपछि निर्वाचनको प्रक्रिया अपनाइनेछ। एक मात्र प्रस्ताव परेको अवस्थामा भने सभामुख चयन निर्विरोध हुनेछ।
मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिनेछ। कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १सय ३८ सदस्यको आवश्यकता पर्नेछ।
एमालेबाट सभामुखको उम्मेदवार देवराज घिमिरे
नेकपा एमालेले स्थायी समिति सदस्य देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा घिमिरे सभामुखको उम्मेदवार बनाइएको हो।
झापा क्षेत्र नम्बर २ बाट निर्वाचित घिमिरे अध्यक्ष ओलीका विश्वासपात्र मानिनुहुन्छ ।
एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र नेता विद्या भट्टराई सभामुख बन्ने इच्छा जाहेर गर्नुभएको थियो ।
सत्ता गठबन्धनभित्र भएको भागबन्डामा सभामुख पद नेकपा एमालेको भागमा परेको छ।
प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई मतदान गरेर पनि प्रमुख प्रतिपक्षको भूमिका खोजिरहेको नेपाली कांग्रेसले सभामुखमा उम्मेद्वार उठाउने वा नउठाउने सम्बन्धमा कुनै निर्णय गरिसकेको छैन ।


















