काठमाडौं, ५ माघ । प्रतिनिधिसभाको सभाभुखमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएका नेकपा एमालेका सांसद देवराज घिमिरे विजयी हुनुभएको छ ।
बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १ सय ६७ मत परेको थियो। यो संख्या प्रतिनिधि सभाको कूल संख्याको बहुमतभन्दा बढी भएकोले उहाँ सभामुखमा निर्वाचित हुनुभएको हो ।
प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले निर्वाचन पछि “हाल प्रतिनिधि सभामा बहाल रहेको २ सय ६८ मध्ये देवराज घिमिरेले प्राप्त गर्नुभएको १ सय ६७ मत बहुमतभन्दा बढी भएकोले घिमिरे सभामुखमा निर्वाचित हुनुभएको छ ” भन्ने घोषणा गर्नुभएको थियो।
नवनिर्वाचित सभामुख यसअघि २०५६ सालमा राष्ट्रियसभाको सांसद भएका हुनुहुन्थ्यो। एमाले स्थायी कमिटीका सदस्यसमेत रहेका उहाँ झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको हो।
घिमिरेको पक्षमा एमालेका ७७, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्रब पार्टी (रास्वपा)का २०, राप्रपा १४, जनता समाजवादी पार्टी (जसपा) १२, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४ जना र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गर्नुभएको थियो ।
नेपाली कांग्रेसबाट सभामुख उम्मेदवार दिनुभएकी ईश्वरीदेवी न्यौपानेको प्रस्तावमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदहरुले समर्थन जनाउनुभएको थियो ।
मत विभाजनमा पहिले घिमिरेको उम्मेदवारीको प्रस्ताव राखिएको र उहाँले मतदानमा उनले बहुमत पाएपछि ईश्वरीको उम्मेदवारीमाथि छलफल नै भएन । उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।