Prakash Adhikari February 5, 2023

काठमाडौं, २२ माघ । राष्ट्रियसभा उपाध्यक्षका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

सङ्घीय संसद् सचिवालयले यसका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ।

सङ्घीय संसद्को ल्होत्से हलमा प्रस्ताव दर्ताका लागि स्थान तोकिएको सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिनुभएको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष चयन गर्न यही माघ २३ गते सोमबार दिउँसो १२ बजेका लागि मिति निर्धारण गर्नुभएको छ।

आइतबार ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने र अपराह्न ४ः१५ बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ।

राष्ट्रियसभाको बैठकमा यही माघ २३ गते ‘उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी’ प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

उपाध्यक्ष पदको निर्वाचनमा समर्थकले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावमा संक्षिप्त छलफल गर्ने र दर्ता क्रमअनुसार प्रस्ताव निर्णायार्थ पेश गरिनेछ।

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि एक वर्षदेखि राष्ट्रियसभाको उपाध्यक्षको पद रिक्त छ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले यही माघ १३ गतेको बैठकमा उपाध्यक्षको निर्वाचनको मिति तोक्नुभएको हो।

अध्यक्ष तिमिल्सिनाले मिति तोकेर निर्वाचनसम्बनधी कार्यक्रमको सूचना प्रकाशन गर्न सङ्घीय संसद्को महासचिवलाई निर्देशन दिए अनुसार महासचिवले आइतबारका लागि उम्मेदवारी दर्ताको समय निर्धारण गर्नुभएको हो।

Share Now

Leave a comment.