काठमाडौं, २२ माघ । अवैध नागरिक प्रमाणित भएर उपप्रधान र गृहमन्त्रीसहित निर्वाचित सांसद पनि गुमाउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गैरसांसद कोटाबाट उपप्रधानमन्त्री र गृहमन्त्रीमा पुनस्थापना हुन प्रधानमन्त्रीसंग गरेको माग पुरा नहुने स्थितिमा पुगेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री गृहमन्त्रालय माओवादीलाई नै राखेर त्यसको सट्टामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्वतन्त्र पार्टीलाई दिन तयार हुनुभएको छ ।
यसैले रविको सत्ता पुनरागमनमा तुषरापात लाग्नुको साथै गृहमन्त्रालय नै स्वतन्त्र पार्टीले गुमाउने सभावना बढेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता जोगाउने नाममा अनावश्यक सम्झौता नगर्न पार्टीभित्रबाटै दबाब सुरु भएको बताइएको छ।
शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा नेताहरूले सत्ता जोगाउनकै लागि कुनै सम्झौता नगर्न दबाब दिएका हुन्।
शनिबार बिहानमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसंग राष्ट्रिय स्वतन्त्र पार्टीको मागका सम्बन्धमा छलफल गरेर पार्टी बैठकमा उपस्थित हुनुभएका प्रधानमन्त्री प्रचण्डले ओली र रविको चर्को दबाब परेको बताउनुभएको थियो ।
सत्ता गठबन्धनका दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रहनुभएका एमाले अध्यक्ष ओली रविलाई नै गृहमा पुर्नवहाली गर्न न्वारानदेखिको बल लगाइरहनुभएको छ। तर, सर्वोच्चको पूर्णपाठ नआइसकेको र पासर्पोटको विवाद पनि कायमै रहेकाले अहिले रविलाई गृह दिन नहुने अडानमा प्रचण्ड रहनुभएको छ ।
प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अल्टिमेटन शनिवारबाटै सकिएको छ ।
आज राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्ने बताइएको छ ।


















