काठमाडौं, २९ माघ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक सुरु भएको छ।
बैठकमा सेनाको आठ वटा पृतनाका पृतनापति, विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुख तथा सम्बन्धित बाहिनीपतिको उपस्थिति रहेको छ।
बैठक नेपाली सेनाको मुख्यालय जंगी अड्डा भद्रकालीमा दुई दिनसम्म चल्नेछ। बैठकमा सहभागीबाट आ–आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवम् सुझाव प्रस्तुत गर्ने सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै जानकारी गराएको छ ।
बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै रक्षामन्त्री हरिप्रसाद उप्रेतीले शुभकामना दिनुभएको छ। उहाँले २ सय ६० वर्षको गर्विलो इतिहास बोकेको नेपाली सेनाले आफूलाई प्राप्त राष्ट्रिय सुरक्षा सम्बन्धी प्राथमिक जिम्मेवारीका साथ अन्य विविध दायित्व प्रभावकारी तथा अनुकरणीय रुपमा सम्पादन गरेकोमा प्रशंसा गर्नुभएको छ।
रक्षामन्त्री उप्रेतीले कोभिड–१९ र अन्य विपद्को समयमा अग्रपंक्तिमा खटिएर नेपाली सेनाले व्यक्तिगत जोखिमको पर्वाह नगरी जिम्मेवारी निर्वाह गरेको स्मरण गर्नुभयो।
उहाँले बाह्य र आन्तरिक दुवै सुरक्षा खतरालाई सूक्ष्म विश्लेषण र मूल्यांकन गरेर त्यसलाई न्यूनीकरणका लागि नेपाली सेना तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो। उहाँले राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिको कार्यान्वयन लगायत अन्य मार्गनिर्देशक दस्तावेज बमोजिम राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न रक्षा मन्त्रालयले समन्वय गर्ने उल्लेख गर्नुभयो।

बैठकमा स्वागत मन्तव्य राख्नुहुँदै प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता एवम् राष्ट्रिय एकता कायम गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी भएको बताउनुभएको छ।
उहाँले राष्ट्रिय सुरक्षाका बहुआयामिक पक्षलाई सम्बोधन, समाधान तथा न्यूनिकरण गर्न नेपाली सेनाको समयसापेक्ष आधुनिकीकरण हुनु अनिवार्य रहेको रहेको बताउनुभयो। उहाँले ‘नेपाली सेनाको दीर्घकालीन सोच, २०३०’ लाई कार्यान्वयनमा ल्याउन नेपाल सरकार र रक्षा मन्त्रालयको तर्फबाट विशेष पहल र सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभएको छ।
बैठकको उद्घाटन कार्यक्रममा रक्षा सचिव किरणराज शर्मालगायत रक्षा मन्त्रालयका अधिकारीको उपस्थिति थियो।


















