काठमाडौं, ५ फागुन । भारत सरकारको लगानी रहेको नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड(एनएचपीसीएल)ले ४ सय ५० मेगावाट क्षमताको सेती नदी ६ आयोजनाको सर्वेक्षण अनुमति माग गर्दै लगानी बोर्ड नेपालमा निवेदन दिएको छ ।
लगानी बोर्ड र एनएचपीसीबीच गत भदौ २ गते पश्चिम सेती र सेती नदी ६ परियोजना निर्माण सम्बन्धी समझदारी भएको थियो ।
एनएचपीसीले यसअघि नै पश्चिम सेती जलविद्युत परियोजनाको सर्वेक्षण अनुमति लिँदै प्रारम्भिक अध्ययन प्रतिवेदनसमेत बुझाइसकेको छ ।
सेती नदी ६ परियोजनाका विषयमा यसअघि अध्ययन गर्न लागेको विभिन्न लागत बुझाउँदै एनएचपीसीले सर्वेक्षण अनुमति माग गरेको छ ।
एनएचपीसीले ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती परियोजनाका विषयमा वृहत अध्ययन गरिरहेको छ । बोर्डले सेती नदी ६ परियोजनाको सर्वेक्षण अनुमति दिए लगत्तै यस आयोजनाका विषयमा पनि अध्ययन अघि बढाउने छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा गत भदौ २ गते लगानी बोर्ड र एनएचपीसीबीच आयोजना निर्माण गर्ने सम्बन्धमा सझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
समझदारीपत्रमा दुई वर्षभित्र अध्ययन सम्पन्न गर्दै पश्चिम सेती जलविद्युत र एस आर ६ जलविद्युत परियोजना निर्माण सम्पन्न गर्ने कुरा उल्लेख छ।


















