काठमाडौं, ५ फागुन। महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा स्नान गर्ने भक्तालु तथा तीर्थालुहरुलाई ध्यानमा राखेर सरकारले वागमती नदीमा सफा पानी प्रवाह गरेको छ ।
बागमती नदीको मुहान क्षेत्रमा निर्मित धाप बाँधमा संकलित पानी बिहिबार बागमतीमा निसृत गरेर सफा पानी प्रवाहको कामको थालनी भएको छ ।
उक्त सफा पानी प्रवाह कार्यक्रमको शुभारम्भ गर्दै उपप्रधान, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा बनेको धाप बाँधबाट छोडेको पानीले सभ्यताको स्रोत वाग्मती नदीलाई सफा बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
गोकर्णेश्वर नगरपालिका–१ स्थित निकुञ्जभित्र बिहिबार धाप बाँधबाट पानी छाड्न आयोजित कार्यक्रममा उहाँले यो बाँधले बागमतीलाई पुरानै स्वरुपमा फर्काउन सहयोग पुग्ने बताउनुभयो ।
धाप बाँधभन्दा मुनि नागमती बाँध बनाउन हालैको मन्त्रिपरिषद् बैठकले जग्गा व्यवस्थापनको निर्णय गरेको जानकारी पनि उपप्रधानमन्त्री लिङ्देनले दिनुभएको छ ।
बिहिबारदेखि प्रतिसेकेण्ड चार सय लिटर पानी वागमती नदीमा पठाइएको छ । महाशिवरात्रिको अवसर पारेर वाग्मतीमा स्वच्छ पानी बगाउन धाप बाँधबाट पानी छाडिएको हो ।
नागमती बाँध बनेपछि भने वागमती नदीमा सोचेअनुरुपको सुधार हुने विश्वास गरिएको छ । नेपाल विश्वमै जाति, भाषा, धर्म, संस्कृतिमा विविधताबीचको एकता भएको देशका रूपमा परिचित रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लिड.देनले जैविक विविधता उत्तिकै रहेको जानकारी गराउनुभयो ।
‘धाप बाँधस्थल जैविक विविधताका कारण पनि पर्यटकीय महत्व बोकेको स्थलका रूपमा परिचित छ, तर यो ठाउँमा ओहोरदोहोर गर्ने स्थानीयवासीले पनि निकुञ्जलाई शुल्क तिर्नुपर्ने नियम गलत छ, यस विषयमा आजैको मन्त्रिपरिषद्मा कुरा उठाउँछु, यस्तो विषय अरुले सुन्दा पनि यो लाजमर्दो हुन्छ, यहाँको उकालो र घुम्ती सडकमा कालोपत्र गर्न दिएर वन्यजन्तुलाई क्षति पुग्दैन, कानुनको त्यान्द्रो समातेर जनतालाई दुःख दिने काम बन्द गरिनुपर्छ’, उपप्रधानमन्त्री लिङ्देनले भन्नुभयो । साढे चार दशकअघि बनेको सडकलाई कालोपत्र हुन नदिँदा यहाँका बोटबिरुवाको सौन्दर्यमा असर गरेको उहाँले सुनाउनुभयो ।
सहरी विकासमन्त्री विक्रम पाण्डेले निकुञ्ज भएकै कारण आफ्नै गाउँमा जाँदा पनि शुल्क तिर्नुपर्ने अवस्था चितवनको माडीमा पनि रहेको उल्लेख गर्दै आफू वनमन्त्री हुँदा त्यो समस्या समाधान गरेकाले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि यो समस्या समाधान गर्न लागिपर्ने बताउनुभयो ।
‘सडक खुलेको ४६ वर्षसम्म पनि कालोपत्र नहुनु अन्याय हो, यस विषयमा सरोकार भएका निकायबीच बैठक गरी समस्या समाधान गर्न प्रयास गर्छौँ, निकुञ्जबीचको सडक कालोपत्र नहुँदा जङ्गली जनावर र पक्षीले धुलो खान बाध्य हुनु कति न्यायोचित छ’, उहाँले भन्नुभयो ।
धाप बाँधको वरिपरि बायो इञ्जीनियरिङ नगरे समयअघि नै यसको दुर्गति हुने भएकाले पनि यसतर्फ बेलैमा ध्यान दिनुपर्ने मन्त्री पाण्डेको भनाइ थियो । नागमती बाँधलाई एसियाली विकास बैंकले पनि विश्वकै आठौँ नम्वरको परामर्शदाता खटाएर सहयोग गरेको उहाँले बताउनुभयो ।
‘डिजाइनिङ’ र ‘सुपरभिजन’ गलत गर्ने इञ्जीनियरलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी मन्त्री पाण्डेले दिनुभयो । यो बाँधले निकुञ्ज क्षेत्रमा अरु बाँधका लागि वातावरण बनाउने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।
काठमाडौँ क्षेत्र नं ३ का सांसद सन्तोष चालिसेले सुक्खा रहने हिउँदमा वाग्मतीलाई सफा राख्न धाप बाँधले सहयोग गर्ने बताउनुभयो। करिब आधा दर्जन स्थानमा बागमती ढल हालिएको बताउँदै उहाँले त्यसलाई व्यवस्थापन गर्न अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको ध्यानाकर्षण गराउनुभयो ।
‘जैविक विविधतालाई जोगाउँदै निकुञ्ज क्षेत्रमा पूर्वाधार विकास गरिनुपर्छ, यहाँका जनताले शुल्क तिर्नुपर्ने अवस्था अन्त्य गरिनुपर्छ, धाप बाँधमा स्टिमर चलाउन गोकर्णेश्वर नगरपालिकालाई दिनुपर्छ, यसबाट वार्षिक रु २५ करोड आम्दानी हुन्छ’, सांसद चालिसेले भन्नुभयो ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले जलविद्युत्सहित नागमती बाँध बनाउन पनि स्थानीय सरकारका तर्फबाट सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगरपालिकाको वडा नं १ देखि ४ सम्म ढल व्यवस्थापन गर्न लागिएको जानकारी पनि उनले दिए । एसियाली विकास बैंकका राष्ट्रिय निर्देशक आर्नो कुसुवाले सभ्यताको स्रोत बागमतीलाई शुद्ध बनाउन सहयोग निरन्तर जारी राखिने बताउनुभयो ।
कार्यक्रममा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, सिँचाइ एकाइ प्रमुख कृष्णप्रसाद रिजाल, अधिकारसम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायतले वाग्मती नदीमा स्वच्छ पानी बगाउन भइरहेका गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो ।


















